पोखरा , ३ चैत २०८२।
दुई छोराछोरीसहित बेपत्ता भएकी एक महिलाको शब भेरी नदीमा भेटिएको छ भने उनका छोराछोरी अझै बेपत्ता छन्।
दुई छोराछोरीसहित गएको आइतबारदेखि बेपत्ता रहेकी सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीय माया कठायतको शव लेकबेशी नगरपालिका–३ को पटारो स्थित भेरी नदीमा भेटिएको हो ।
आमाको शव भेरी नदीमा भेटिएकाले छोराछोरी पनि भेरी नदीमा बेपत्ता भएको अनुमान प्रहरीले गरेको छ। बेपत्ता छोराछोरीको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापले जानकारी दिए।
माया आइतबार बिहान ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षका छोरा दीपक कठायतसहति सम्पर्कविहीन भएकी थिइन् । मायाका श्रीमान् भूपेन्द्र कठायतले बेलुका प्रहरी चौकी गुमीमा खबर गरेका थिए । त्यसपछि प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमान्डमा ४ जनाको प्रहरी टोली र स्थानीयहरू खोजतलासमा खटिएका थिए ।
खोजीका क्रममा प्रहरीले घरदेखि करिब तीन किलोमिटर पर्ने भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला पारेको थियो। त्यसपछि मायाले भेरीमै हाम फालेको आशङ्कामा प्रहरीले उनीहरुको खोजि शुरु गरेको थियो।