इजरायललाई लेबनानसँग प्रत्यक्ष वार्ता गर्न फ्रान्सेली राष्ट्रपतिको आग्रह : वार्ताका लागि इरानी सेनाका पूर्व कमाण्डरको आयो पूर्व दुई शर्त

इजरायललाई लेबनानसँग प्रत्यक्ष वार्ता गर्न फ्रान्सेली राष्ट्रपतिको आग्रह : वार्ताका लागि इरानी सेनाका पूर्व कमाण्डरको आयो पूर्व दुई शर्त


  • एजेन्सीहरु
  • आइतबार, १ चैत्र २०८२
  • 2.6K
    Shares

पोखरा , १ चैत २०८२।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इजरायललाई लेबनानसँग प्रत्यक्ष वार्ता गर्न आग्रह गर्दै पेरिसमा युद्धविरामको छलफल आयोजना गर्ने प्रस्ताव राखेका छन् । यता इरानी सेनाका एक जना पूर्व कमान्डरले वार्ताका लागि दुई वटा पूर्व शर्त अघि सारेका छन्।

राष्ट्रपति म्याक्रोँले सामाजिक सञ्जाल एक्समार्फत आफूले लेबनानका राष्ट्रपति जोसेफ औन, प्रधानमन्त्री नवाफ सलाम र संसदका सभामुख नबिह बेरीसँग कुराकानी गरेको जानकारी दिएका हुन् । 

उनले लेबनानलाई अराजकतामा जानबाट रोक्न हरसम्भव कदम चाल्नुपर्नेमा जोड दिए । म्याक्रोँले इरान समर्थित संगठन हिजबुल्लाहलाई स्थिति थप नबिगार्न आग्रह गरेका छन् ।  साथै, उनले इजरायललाई ‘तीव्र बमबारी’ र ‘ठूलो स्तरका आक्रमणहरू’ रोक्न भने।

उनका अनुसार लेबनानी सरकारले इजरायलसँग प्रत्यक्ष वार्ता गर्ने इच्छा देखाएको छ। उनले भने, ‘इजरायलले यो मौकाको फाइदा उठाउनुपर्छ, वार्ता सुरु गर्नुपर्छ र युद्धविराम कायम गर्नुपर्छ।’

लेबनानको सार्वभौमसत्ता जोगाउन र स्थायी समाधान खोज्नका लागि फ्रान्सले यो वार्तामा सहयोग गर्न र पेरिसमा यसको आयोजना गर्न तयार रहेको उनले स्पष्ट पारे । 

यता इरानी सेना इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का पूर्वकमान्डर तथा एक्सपेडिएन्सी डिस्नर्नमेन्ट काउन्सिलका सचिव मोहसेन रजाईले शनिबार अमेरिका र इजरायललाई यो युद्धबाट बाहिर निस्कन तेहरानको क्षतिको भरपाई गर्नुपर्ने बताएका छन् । उनले युद्ध रोक्नका लागि भविष्यमा आक्रमण नहुने ग्यारेन्टी पनि मागेका छन् ।

इरानका यी सर्त मान्न डोनाल्ड ट्रम्पका लागि सहज हुने छैन, किनकि उनले तेहरानलाई झुकाउने धम्की दिँदै आएका छन् ।

क्ल्यास रिपोर्टका अनुसार रजाईले अमेरिका र इजरायलसँगको लडाईबारे सोधिएको एक प्रश्नको जवाफमा भने, ‘युद्धको अन्त्य हाम्रो हातमा छ । हामी युद्ध अन्त्य गर्नेबारे तब मात्र विचार गर्नेछौं, जब हाम्रा दुई सर्त मानिनेछन् ।

यसमा पहिलो सर्त अमेरिकाबाट भएका सबै नोक्सानीको क्षतिपूर्ति पाउनु रहेको छ । अमेरिकाले फारसको खाडी खाली गर्नुपर्ने पनि भनिएको छ ।

रजाईले युद्ध रोक्न दोस्रो सर्त इरानमाथि आक्रमण नहुने ग्यारेन्टीलाई बनाएका छन् । भविष्यमा आफूहरूमाथि आक्रमण नहुने १०० प्रतिशत ग्यारेन्टी पाउनुपर्ने उनको माग छ । ‘यो फारसको खाडीबाट अमेरिकाको फिर्तीबिना सम्भव छैन । त्यसैले, हाम्रो युद्ध रोक्ने दोस्रो सर्त फारसी खाडीबाट अमेरिकी सेनाको फिर्ती हो,’ उनले भनेका छन् ।

रजाईको यो बयान यस्तो समयमा आएको हो, जब इरान र इजरायलबिचको युद्ध तेस्रो हप्तामा प्रवेश गरेको छ । फेब्रुअरी २८ देखि चलिरहेको यस युद्धमा दुवैतर्फ ठुलो जनधनको क्षति भएको छ । विशेषगरी इरानमा अमेरिका र इजरायलका हवाई आक्रमणबाट धेरै क्षति पुगेको छ । इरानमा १३०० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया