हतारमा दीर्घकालीन असर गर्ने निर्णय नगर्न रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको मन्त्रालयका सचिवहहरुलाई आग्रह

हतारमा दीर्घकालीन असर गर्ने निर्णय नगर्न रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको मन्त्रालयका सचिवहहरुलाई आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २५ फाल्गुन २०८२
  • 2.9K
    Shares

swarnim wagle ,स्वर्णिम वाग्ले

पोखरा,२५ फागुन २०८२।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले हतारमा दीर्घकालीन असर गर्ने निर्णय नगर्न मन्त्रालयका सचिवहहरुलाई आग्रह गरेका छन्।

डा. वाग्लेले आज विभिन्न मन्त्रालयका सचिवहरूलाई फोन गरेर त्यस्तो आग्रह गरेका हुन्।

सिंहदरबारस्थित स्रोतका अनुसार प्रतिनिधिसभा निर्वाचनको परिणाम आउने क्रममा वाग्लेले मुख्य सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरूलाई टेलिफोन गरेर दूरगामी प्रभाव पार्ने निर्णय नगर्न भनेका हुन्।

रास्वपा शक्तिशाली दलका रूपमा उदाउँदै गएको र अब आफ्नै नेतृत्वमा सरकार बन्ने निश्चित भएको सन्दर्भमा नयाँ सरकार नबन्दासम्म महत्वपूर्ण निर्णय नगर्न उनले सुझाव दिएको स्रोतको दाबी छ।

यस विषयमा मुख्य सचिवले प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराइसकेको बताइएको छ। सरकारमाथि अहिले नै दबाब दिनु अनुपयुक्त भएको धारणा पनि उनले व्यक्त गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार वाग्लेले आफ्नो पार्टी ठूलो जनादेशसहित सरकारको नेतृत्व गर्ने भएकाले हालसम्म भएका निर्णय तथा प्रक्रियामा रहेका विषयहरू यथास्थितिमा राख्न निर्देशन दिएका छन्।

यसअघि नख्खु कारागारबाट छुटेपछि प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दा रास्वपा सभापति रवि लामिछानेले भने “सरकार भनेको अन्तिम दिनसम्म पनि पूरा अधिकारका साथ काम गर्नुपर्छ” भन्ने धारणा व्यक्त गरेका थिए। तर उपसभापति वाग्लेले भने कार्की नेतृत्वको सरकारलाई नयाँ निर्णय नगर्न दबाब दिएको स्रोतको भनाइ छ।

स्रोतका अनुसार निर्वाचन गराउने जिम्मेवारी लिएको अन्तरिम सरकार भएकाले दीर्घकालीन असर पर्ने निर्णय गर्ने सम्भावना कम भए पनि सरकारमा जानुअघि नै यस्तो दबाब आएकोले सरकारको मनोबलमा प्रभाव परेको बताइएको छ। अहिलेसम्म मन्त्रिपरिषद् बैठकसमेत नबस्नु त्यसकै संकेत हुन सक्ने अनुमान गरिएको छ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा डा. वाग्लेसँग तत्काल सम्पर्क हुन सकेन। उनका सहकर्मीले फोन उठाए पनि उनीसँग सम्पर्क हुन नसक्ने जानकारी दिएका छन्।

प्रतिक्रिया