सर्लाहीमा रास्वपाका नवनिर्वाचित सांसद अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

सर्लाहीमा रास्वपाका नवनिर्वाचित सांसद अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ फाल्गुन २०८२
  • 2.5K
    Shares

पोखरा,२४ फागुन २०८२।

सर्लाहीमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) डा.कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ।

जिल्लाको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी डा. सिन्हामाथि आइतबार दिउँसो करिब १२ : १० बजे आक्रमण भएको हो ।

डा.सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा अज्ञात समूहले गाडीमाथि आक्रमण गरेको हो । नेपाली कांग्रेसले सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद अमरेशकुमार सिंहका समर्थकले आक्रमण गरेको जनाएको छ ।

आक्रमणबाट घाइते भएका डा.कमलेश्वर सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको नेपाली कांग्रेसले जनाएको छ। घटनाप्रति कांग्रेस सर्लाही–४ ले आपत्ति जनाएको छ । प्रहरीले भने यो विषय सञ्चारमाध्यममा आए पनि औपचारिक रूपमा जानकारीमा नआएको बताएको छ ।

सर्लाही क्षेत्र नं. ४ का रास्वपाबाट निर्वाचित सांसद अमरेशकुमार सिंहका भतिजा तथा राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेशकुमार सिंह र बलरा–४ का पंकजकुमार झाले आक्रमण गरेको आरोप लगाइएको छ ।

यस घटनाप्रति नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ ले घोर आपत्ति जनाएको छ। विजय जुलुसको क्रममा डा. सिन्हामाथि ज्यान लिने गरी आक्रमण भएको आरोप लगाउँदै कांग्रेसले दोषीमाथि कानुनबमोजिम कारबाही गर्न प्रशासनसँग माग गरेको छ ।

कांग्रेस कार्यकर्ताले यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया