पोखरा, १७ फागुन २०८२।
इजरायल र अमेरिकाले आफ्नो देशका सर्बोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेपछि त्यहाँका जनताले शोक मनाइरहेका बेला इरानका अन्तिम राजाका छोरा रेजा पह्लवीले आयातोल्लाह अली खामेनेईको हत्या गरेकोमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवादसमेत दिएका छन्।
अमेरिका र इजरायलले गरेको आक्रमणमा आफ्नो सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि इरान यतिबेला शोकमा छ। उनको निधनमा इरान सरकारले ४० दिनको शोक र ७ दिन सार्वजनिक बिदाको घोषणा गरेको छ।
यसैबिच खामेनीको मृत्युपछि त्यहाँका नागरिक सडकमा भेला भएका र रोइरहेका तस्बिर सार्वजनिक भएका छन्। उनीहरूले सरकारलाई बदला लिन माग गर्दै नारा लगाइरहेका छन्।
यसैबीच इरानका अन्तिम राजाका छोरा रेजा पह्लवीले आयातोल्लाह अली खामेनेईको मृत्युको स्वागत गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवादसमेत दिएका छन् । निर्वासनमा रहेका पह्लवीले वासिंटन पोस्टमा एक लेख लेख्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिंदै इरानमा अब नयाँ संविधान बनाएर जनमतसंग्रहमार्फत अनुमोदन हुनुपर्ने बताएका छन् ।
अमेरिकामा बस्दै आएका पूर्वराजकुमार पह्लवीले इरानमा सरकारविरोधी प्रदर्शन चर्किएपछि अमेरिकालाई इरानमा हस्तक्षेप गर्न आग्रह गर्दै आएका थिए । उनका बुवा मोहम्मद रेजा पह्लवी १९७९ सम्म इरानका राजा थिए । सन् १९७९ को इस्लामिक क्रान्तिले इरानको राजतन्त्र ढलेको थियो । त्यसपछि पेरिसमा रहेका खामेनेई तेहरान फर्किएका थिए । इस्लामिक गणतन्त्र घोषणापछि उनी मुलुकका सर्वोच्च नेता चुनिएका थिए ।