जुत्ता बेचेरै अर्बपति

जुत्ता बेचेरै अर्बपति


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ जेष्ठ २०७४
  • 14.8K
    Shares

उद्यमशीलता र लगानीबाट आफ्नो आर्थिक अवस्था सुधार गर्न चाहनुहुन्छ भने तपाईले आफ्ना वरपर रहेका सफल उद्यमीहरूको अतित र संघर्षशील जीवनकथा पढ्नैपर्छ । तिनले कसरी सफलता प्राप्त गरे भन्ने कुरा जान्नैपर्छ । अझ कम लगानीबाटै तिनी कसरी धनाढ्यमा दरिए भन्ने थाहा पाउनैपर्छ । विश्वमा केही यस्ता अर्बपति पनि छन्, जो गरिब परिवारमा जन्मे अनि हुर्के, पछि आफ्नै बलबुतामा विश्वकै धनाढ्य बने । हामीमध्ये धेरै जनामा एउटा गलत धारणा पनि छ कि अधिकांश अर्बपति चाँदीको चम्चा लिएरै जन्मे अर्थात् धनाढ्य परिवारमा जन्मिए । तर, यो सत्य हैन । किनभने केही यस्ता पनि उद्यमी/व्यापारी छन्, जो संघर्षकै बलमा सफल भएका छन् । त्यसरी कडा परिश्रम र संघर्षबाटै अर्बपतिमध्ये फिलिपिन्सका हेनरी साई पनि एक हुन् ।

यदि तपाई सानो व्यापारी हुनुहुन्छ भने अर्बपति बन्नका लागि एउटा ठूलो लिग (बिग लिग) जित्नका लागि आफू एक खेलाडी बन्न तयार हुनुपर्छ, आफूले फुटबलका ‘स्ट्राइकर’ वा क्रिकेटका तीव्र बल्लेबाजको जस्तो भूमिकामा निर्वाह गर्न सक्नुपर्छ । हो, हेनरीले त्यस्तै लिग आफ्नो जीवनमा खेले । सुरुमा उनले एउटा सानो जुत्ता पसलबाट आफ्नो व्यवसाय थालेका थिए । त्यही सानो व्यापारले उनको जीवन नै परिवर्तन गरिदियो । कुरो सन् १९५० को दशकको हो । जब हेनरी साईले फिलिपिन्सको मनिला सहरमा सानो एसएम क्विपो (सु मार्ट) खोलेका थिए । उनले खोलेको पसलमा विभिन्न जुत्ता कारखानाबाट रिजेक्टेट (बेच्नका लागि अस्वीकृत) जुत्ताहरू बिक्री गर्थे । नाम चलेका कम्पनीले आफ्नो ब्रान्डको सानमा धक्का पुग्ने भन्दै खराब उत्पादन बजारमा पठाउँदैनथे । तर, उनले त्यसैलाई आफ्नो व्यापारको माध्यम बनाए । उनको यो व्यापार चम्किँदै गयो । फलस्वरूप सन् १९८० को मध्यतिरै उनी मुलुककै पहिलो एसएम सुपर मल स्थापना गर्न सफल भए ।

सन् २०१० मा विश्वव्यापी रूपमा आर्थिक बन्दी जारी थियो । तर, साईलाई त्यसको पीर रत्तिभर थिएन । आफ्नो व्यापार चम्काउनमै व्यस्त थिए । त्यसैले छ आर्थिक संकटको त्यो दौडमा उनले ५ अर्ब अमेरिकी डलरको व्यापार गर्न भ्याएका थिए । साईका प्रतिस्पर्धीहरू उनको सफलबाट डाहा गर्न थालिसकेका थिए । हुन पनि हो, बजारमा मन्दी थियो, व्यापार घाटाको वृद्धिदर बढ्दो थियो । त्यस्तो अवस्थामा यतिका धनार्जन गर्नु जो कोहीका लागि चानचुन कुरो पनि त थिएन नि । उनलाई यो सफलता त्यतिकै प्राप्त भएको भने हैन । आर्थिक मन्दीबाट गुज्रिरहेका कयौं व्यापारी तथा उद्यमीहरू टाउकोमा हात हालेर विकल्पको खोजीमा रहेकै बेला उनले आफ्नो व्यापारलाई अन्य क्षेत्रमा विस्तार गर्ने सुरमा थिए । उनी अन्य क्षेत्रमा लगानी गरे । आफूले खोलेको सुपर मलबाट भएको आम्दानी उनले रियल इस्टेट र बैंकिङ क्षेत्रमा लगानी गरेका हुन् ।

हेनरी साईले व्यापारमा सफलता प्राप्त गर्न केही बाजर सिद्धान्त (मार्केट थ्योरी) लाई अवलम्बन गर्नुपर्ने एक साक्षात्कारमा बताएका छन् । उनले भनेका छन्, ‘बजारमा वर्चस्व कायम गर्न व्यवसायीले बजारको मागबारे एउटा विज्ञझंै जानकार हुनैपर्छ । अर्थात् कुनै पनि मार्केट लिडर्सले कम्तीमा एकपटक ‘मार्केट फलोअर्स’ बन्नैपर्छ ।’ उनको यो भनाइको अर्थ : प्रत्येक ‘स्टार्टअप’ व्यापार गर्नुअघि व्यापारीले बजार अनुयायीदेखि अन्य स्थापित कम्पनीहरूको अध्ययन गर्न सक्नुपर्छ । साईले त्यस्तै गरेका थिए । त्यसैले त सानो व्यापारबाट बजारमा आफ्नो साम्राज्य कसरी कसरी गर्न सकिन्छ भन्ने कुराको एउटा मोडल उनी बन्न सफल भए । किनभने उनी कम्पनीले खराब भनी रिजेक्ट गरेका उत्पादनहरूलाई बजारमा बिक्री गर्नुलाई आफ्नो व्यापारको माध्यम बनाएका थिए ।

साईले आफ्नो सफलताको रहस्यबारे भन्छन्, ‘मैले जतिसुकै बाधा र अड्चन आए पनि आफ्नो व्यापारलाई अघि बढाउने प्रण गरेको थिएँ, बजारमा सफल हुन्छु भन्ने दृढ विश्वासले नै म आज सफल भएको हुँ ।’ भनिन्छ, कुनै काम गर्दा आत्मविश्वास अनिवार्य सर्त हो । त्यो आत्मविश्वास उनीसँग थियो । वास्तवमा तपाई आफ्नो व्यापारलाई सफल बनाउन चाहनुहुन्छ भने तपाईले बजारमा झेल्नुपर्ने सबै बाधालाई पार गर्न सक्नुपर्छ । उनी यसका लागि सन् २००८/२०१० को अवधिमा विश्व अर्थतन्त्रको नाजुक अवस्थालाई सम्झन्छ । उनी खराब अवस्थामा पनि सफल भएकोबारे अन्यलाई सिक्न आग्रह गर्छन् । किनभने व्यापारमा लागेकाहरूका लागि त्यो अवधि ठूलो संकटका रूपमा देखापरेको थियो ।

धेरै व्यापारी निराश भएका थिए । उनी भन्छन्, ‘मचाहिँ निराश बिल्कुलै भइनँ, आफ्नो व्यापारलाई जुनसुकै हालतमा अघि बढाउने सोच बनाएर अघि बढिरहें ।’ हो, उनको विशेषता नै भन्नुपर्छ, उनी अन्य व्यापारीको जस्तो जोखिम मोल्नबाट अलिकति पनि हिच्किचाएनन् । नयाँ क्षेत्रको पहिचान गर्दै त्यसमा लगानी गरेका थिए । त्यसैले त सन् २०१० मा मात्रै उनी ५ अर्ब अमेरिकी डलर आम्दानी गर्न सफल भए । साई थप्छन्, ‘सफल उद्यमी बन्नका लागि कुनै पनि उद्यमीले लगानीमा विविधता (डाइभर्सिटी योर इन्भेस्टमेन्ट) सिद्धान्त अंगीकार गर्न सक्नुपर्छ ।’ सन् १९५० को दशकमा व्यापार थालेका उनी आज आफ्नो व्यापारलाई यसै सिद्धान्तबाट डोर्‍याइरहेका छन् । त्यसैले त आज अर्बौं डलरका साथ विभिन्न कम्पनीको मालिकसमेत बनेका छन्, उनी ।

पहिले फिलिपिन्समा मलको स्थापना, त्यसपछि बैंकिङ र रियल इस्टेट उद्योगमा उनको लगानी सफलताको चुचुरोमा पुग्ने साधन बन्यो । एकजना चिनियाँ–फिलिपिनो व्यापारी साईको आज हस्पिटलिटी, खनिज, शिक्षा र स्वास्थ्य सेवालगायतका क्षेत्र पनि अर्बौको लगानी छ । एसएम मल्सबाट व्यापार थालेका उनी सु–मार्ट डिपार्टमेन्ट र सुपरमार्केटका प्रमुख पनि हुन् । उनी एसएम प्राइम होल्डिङसका अध्यक्षसमेत हुन् ।

अमेरिकी अखबार ‘फोब्र्स’ को सूचीमा सन् २०१५ मा उनी फिलिपिनी धनाढ्य जाने गोकोन्वे र लुसिओ टानसहितका ११ जना अन्य अर्बपतिभन्दा माथि पुर्‍याइदियो । उनी अर्बपति घोषित भए । हेनरी साईको जन्म ९२ वर्षअघि चीनको जिन्जिआङस्थित फुकेएनमा एउटा गरिब परिवारमा भएको थियो । उनको परिवारलाई दुई छाक टार्नसमेत धौधौ थियो । ‘फोब्र्स’ का अनुसार हेनरी साई र उनको परिवारको कुल सम्पत्ति १४ अर्ब अमेरिकी डलर (रियल टाइम ५ मे २०१७) रहेको छ ।
(एजेन्सीहरू) 

प्रतिक्रिया
सम्बन्धित समाचार