पोखरा, १६ फागुन २०८२।
इजरायलले देशभर संकटकाल घोषणा गरेको छ। छिमेकी देश इरानमा सैन्य आक्रमण शुरु गरेको इजरायलले देशभर संकटकाल घोषणा गरेको हो ।
आज बिहान एक विज्ञप्ति जारी गर्दै इजरायली रक्षामन्त्री इजरायल काट्जले देशभर ‘विशेष र स्थायी संकटकाल’ घोषणा गरेका छन्। इजरायली अधिकारीहरूले इरानमाथि आक्रमण भइरहेको पुष्टि गरेका छन्।
इजरायलले इरानको राजधानी तेहरानमा गरेको विष्फोटका आवाजहरू सुनिएका स्काई न्यूजले समाचार लेखेको छ। ‘म जेरुसेलमस्थित आफ्नै घरमा थिएँ, जब सहरभरि हवाई आक्रमणको साइरन गुञ्जियो’, स्थानीय पत्रकारले बताएका छन्।
‘लगभग त्यही समयमा एउटा सन्देश आयो। यहाँ मानिसहरूको मोबाइल फोनमा एउटा एप छ, जसले इजरायली बासिन्दाहरूलाई यो प्रभेन्टेटिभ (पूर्वसतर्कताका लागि बजाइएको) साइरन हो भनेर जानकारी दियो। अर्को शब्दमा भन्नुपर्दा, इजरायलमाथि त्यस क्षणमा कुनै आक्रमण भएको थिएन, तर यो पूर्वसतर्कताका लागि बजाइएको साइरन थियो।’
‘यसको उद्देश्य मुख्यतया दुईवटा थियो। एउटा प्रणालीले काम गरिरहेको छ कि छैन भनेर जाँच गर्नु, र अर्को मानिसहरूको ध्यानाकर्षण गराउनु।’ शनिबार बिहान यहाँ यो ‘शब्बात’को समय हो। विशेष गरी जेरुसेलम जस्तो धार्मिक सहरमा यो अत्यन्तै महत्त्वपूर्ण सार्वजनिक बिदाको दिन हो।
इरानी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानको मुख्य सहरी क्षेत्रमा तीनवटा ठुला विस्फोटका आवाज सुनिएका छन्। इरानको फार्स न्युज एजेन्सीले तेहरानको रिपब्लिक क्षेत्रमा कैयौँ मिसाइलहरू प्रहार भएको रिपोर्ट प्राप्त भएको जनाएको छ।
इरानको राज्य-सम्बद्ध फार्स समाचार एजेन्सीले तेहरानको उत्तर र पूर्वमा धेरै नयाँ विस्फोटहरू सुनिएको रिपोर्ट गरिरहेको छ।
एसोसिएटेड प्रेस समाचार एजेन्सीले इरानको राजधानीमा आक्रमण सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको कार्यालय नजिक भएको रिपोर्ट गरेको छ ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायलले ‘राज्यलाई खतराहरू हटाउन’ पूर्वनिर्धारित रूपमा आक्रमण गरेको हो। इजरायलको विमानस्थल कार्यालयले सबै नागरिक उडानका लागि हवाई क्षेत्र बन्द गरिएको घोषणा गरेको छ र सर्वसाधारणलाई विमानस्थलमा नआउन आग्रह गरेको छ।