अनुपविक्रम शाही र सन्ध्या केसी अभिनीत फिल्म ‘कमलेको बिहे’ को फस्र्ट लुक सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको पोस्टर, ट्रेलर र गीत एकैपटक रिलिज गरिएको थियो ।
कमेडी जानराको उक्त फिल्ममा कमलेको शीर्ष भूमिकामा अनुपविक्रम छन् भने सन्ध्या चमेली बनेकी छन् ।
‘नेपाली समाजमा चल्दै आएको मागी विवाह र प्रेम विवाहबीचको द्वन्द्वको कथा नै फिल्मको सार हो,’ फिल्मका निर्देशक प्रसन्न पौडेलले भने । अहिलेका युवायुवतीमा आफूखुसी जीवनसाथी रोज्ने क्रम बढिरहेका बेला परिवारबाट हुने अवरोधकै सेरोफेरोमा रहेर फिल्मको पटकथा बगेको बताइएको छ ।
‘यो फिल्म मेरो डेब्यु हो,’ त्यसो त ‘ड्रिम्स’ मा छोटो भूमिकामा देखिइसकेकी सन्ध्याले थपिन्, ‘यस फिल्मले राम्रो अनुभव दियो । त्यसको नतिजा पनि राम्रो निस्केको छ ।
दर्शकको आँखा झिमिक्क गर्न पाउने छैनन् ।’
अभिनेता अनुप भने कार्यक्रममा अनुपस्थित रहे । फिल्मलाई विदुर पाण्डेले खिचेका हुन् भने महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको छ । फिल्ममा अनुप र सन्ध्यासँगै विनोद न्यौपाने, इशान ढकाल, दीपक पहाडी, रेशु तामाङ, कुलद्वीप अधिकारी र लिरण लाकौलको पनि अहंभूमिका रहेको छ ।
सरिता मुभिज क्रिएसनको ब्यानरमा बनेको फिल्ममा सरिता लामाको लगानी छ भने राजनराज शिवाकोटी, शिखर सन्तोष र बाबुल गिरीको संगीत रहेको छ । सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको ‘कमलेको बिहे’ मा नृत्य निर्देशन दीपकमान सिंहले गरेका छन् ।