कञ्चनपुरमा एमालेकाे झण्डा च्यातेको आरोपमा रास्वपाका चार कार्यकर्ता पक्राउ

कञ्चनपुरमा एमालेकाे झण्डा च्यातेको आरोपमा रास्वपाका चार कार्यकर्ता पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ फाल्गुन २०८२
  • 5.1K
    Shares

पोखरा, १४ फागुन २०८२।

कञ्चनपुरमा एमालेकाे झण्डा च्यातेको आरोपमा चार जना राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता पक्राउ परेका छन्।

जिल्लाको बेलडाँडीमा नेकपा (एमाले) को पार्टी कार्यालयमा राखिएको झण्डा च्यातेको आरोपमा चार जना राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता पक्राउ परेका हुन्।

प्रहरीका अनुसार मंगलबार  राति करिब १०:५० बजे बेलडाँडी गाउँपालिका–४ बैवाहस्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सम्पर्क पार्टी कार्यालयमा ५/६ जनाको समूह पुगेको थियो। उक्त समूहले सूर्य चिन्ह अंकित झण्डा टाँगिएको डोरी चुँडाली झण्डा लतारिएको अवस्थामा छोडेर फरार भएको उजुरी परेको थियो।

घटनाको भोलिपल्ट फागुन १२ गते दिउँसो २:०० बजे एमाले गाउँ कमिटी अध्यक्ष प्रेमराज खातीले इलाका प्रहरी कार्यालय बेलडाँडीमा निवेदन दिएका थिए। निवेदन लगत्तै प्रहरी निरीक्षक जय पार्कीको कमाण्डमा आठ जनाको टोली परिचालन गरिएको थियो।

अनुसन्धानका क्रममा बेलडाँडी–४ बैवाहका २५ वर्षीय वीरबहादुर राना क्षेत्रीसहित चार जनाले मदिरा सेवन गरी झण्डा च्यातेको खुलेको प्रहरीले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलडाँडीमा राखी सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको छ।

यस घटनापछि बेलडाँडी क्षेत्रमा चुनावी गतिविधि थप संवेदनशील बनेको छ भने सुरक्षा सतर्कता कडा पारिएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया