पोखरा १२ फागुन २०८२।
अमेरिकाका लागि पूर्वबेलायती राजदूत पिटर म्यान्डेलसनलाई बेलायतको प्रहरीले पक्राउ गरेको छ।
विश्व चर्चित एपस्टिन मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा पिटर म्यान्डेलसनलाई प्रहरीले नियन्त्रणमा लिइएको हो।
लन्डन महानगरीय प्रहरीले ७२ वर्षीय म्यान्डेलसनलाई सोमबार उत्तरी लन्डनको क्याम्डेनबाट पक्राउ गरेको हो।
सोधपुछका लागि उनलाई प्रहरी कार्यालयमा लगिएको बीबीसीले जनाएको छ।
एपस्टिन यौन प्रकरणमा मुछिएपछि बेलायतको लेबर पार्टीका नेतासमेत रहेका पिटर म्यान्डेलसनले हालै पार्टीबाट पनि राजीनामा दिएका थिए। एउटा यौन अपराधमा जेल सजाय भोगेर अर्को यस्तै अभियोगमा पक्राउ गरिएका अमेरिकी नागरिक जेफ्री एपस्टिनले सन् २०१९ मा हिरासतमै आत्महत्या गरेका थिए।
उनले गरेको यौन अपराधमा उच्च ओहोदाका व्यक्ति पनि जोडिएको पाइएको छ। यसै क्रममा अमेरिकाको न्याय विभागले एकपछि अर्को तस्बिर/भिडिओसहितका फाइल जारी गरिरहेको छ। त्यसमा बेलायतको पूर्वक्याबिनेट मन्त्री म्यान्डेलसन पनि देखिएपछि उनलाई गत वर्ष अमेरिकाका लागि बेलायती राजदूत पदबाट हटाइएको थियो।
सार्वजनिक फाइलअनुसार, एपस्टिनले २००३ र २००४ मा २५ हजार डलरको तीन अलग-अलग कारोबारमा पिटर म्यान्डेलसनलाई ७५ हजार डलर तिरेका थिए।