पोखरा १२ फागुन २०८२।
भारतको झारखण्डमा एउटा निजि एयर एम्बुलेन्स दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्यसहित् सातै जनाको मृत्यु भएको छ।
राँचीको बिरसा मुन्डा एयरपोर्टबाट साँझ ७ः११ बजे दिल्लीका लागि मेडिकल उडान भरेको चार्टर उडान सञ्चालक रेडबर्ड एयरवेज प्रा. लि. द्वारा सञ्चालित बीचक्राफ्ट C90 (दर्ता: VT-AJV) विमान झारखण्डको चतरा जिल्लामा दुर्घटना हुँदा त्यसमा सवार दुई चालक दलका सदस्यसहित सबै सात जनाको मृत्यु भएको हो । भारतीय नागरिक उड्डयन महानिर्देशनालयले दुर्घटनाको पुष्टि गरेको समाचार एबीपीले प्रकाशित गरेकाे छ ।
प्रारम्भिक जानकारी अनुसार, उडान भरेको केही समयमै विमानसँगको राडार र रेडियो सम्पर्क टुटेको थियो भने कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग विमानको अन्तिम सम्पर्क साँझ ७ः३४ मा भएको जनाइएकाे छ ।
सम्पर्क विच्छेद भएको करिब ३० मिनेटपछि उद्धार समन्वय केन्द्रलाई सक्रिय गरिएको थियो । खोजी तथा उद्धार टोली दुर्घटनास्थलमा पुग्दा विमानमा सवार कोही पनि जीवित फेला नपरेका एबीपीले जनाएको छ ।
दुर्घटनाको कारण पत्ता लगाउन एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्यूरोको टोलीले विस्तृत अनुसन्धान सुरु गरेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूमा चालक दलका सदस्य क्याप्टेन विवेक विकास बिलागत र क्याप्टेन सवरदीप सिंहका साथै बिरामी सञ्जय कुमार, कुरुवा अर्चना देवी र धुरु कुमार, डाक्टर विकास कुमार गुप्ता र प्यारामेडिक सचिन कुमार मिश्र रहेका छन् ।