आफ्ना सन्तानको भविष्य सम्झिएर मतदान गर्न मतदातासमक्ष रास्वपा उम्मेदवार गनेश पौडेलको आव्हान

आफ्ना सन्तानको भविष्य सम्झिएर मतदान गर्न मतदातासमक्ष रास्वपा उम्मेदवार गनेश पौडेलको आव्हान


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ फाल्गुन २०८२
  • 5.3K
    Shares

बृद्धा मतदाताको आशिरबाद लिंदै रास्वपा उम्मेदवार गणेश पौडेल

पोखरा, ८ फागुन २०८२ ।

कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गनेस पौडेलले आफ्ना सन्तानको भविष्य सम्झिएर मतदान गर्न मतदातासमक्ष आव्हान गरेका छन्।

चुनावी घरदैलो तथा भेटघाट कार्यक्रम अर्न्तगत विहिबार मादी गाउँपालिकाको सिक्लेसमा आयोजित कोणसभामा बोल्दै उम्मेदवार पौडेलले त्यस्तो आव्हान गरेका हुन्।

जेन जी आन्दोलनका क्रममा गएको भदौ २३ गते गोली हानि हत्या गरिएका कलिला विद्यार्थी बालबालिकाहरूको दृश्य सम्झना अनुरोध गर्दै उनले मतदातालाई आफ्ना सन्तानको भविष्य सम्झेर निर्णय गर्न आग्रह गरे।

पौडेलले परिवर्तनका लागि मत निर्णायक हुने बताउँदै भने, “भदौ २३ सम्झनुहोस् अनि आफ्ना छोराछोरी सम्झनुहोस्। परिवर्तनका लागि घण्टीमा मतदान गर्नुहोस्।” उनले मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गर्दै लोकतान्त्रिक अधिकारको सही प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे।

अर्को प्रसंगमा उनले भ्रष्टाचारविरुद्ध कडा अडान दोहोर्‍याए। “भ्रष्टाचार गरेर कमाएका अकुत सम्पत्ति, नेताहरूका गुप्त कोठाभरि जलेका पैसाको स्रोत र तिनको हिसाब–किताब सार्वजनिक गर्न जनताले मत परिवर्तन गर्नुपर्ने बेला आएको छ,” उनले भने। विगतका अनियमितता र आर्थिक अपारदर्शिताको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए।

पौडेलले सुशासन, पारदर्शिता र नागरिक अधिकारको सुनिश्चितता आफ्नो प्रमुख एजेन्डा रहेको उल्लेख गर्दै मतदातालाई परिवर्तनको पक्षमा उभिन अपिल गरेका छन्।

प्रतिक्रिया