पोखरा, ११ माघ २०८२।
चीन सरकारले शनिबार आफ्नो सेनाका सबैभन्दा उच्च पदस्थ अधिकारी जनरल झाङ युक्सिया (Gen. Zhang Youxia) विरुद्ध गम्भीर अनुशासन र कानुन उल्लंघन (भ्रष्टाचार) को आरोपमा अनुसन्धान शुरु गरेको घोषणा गरेको छ। ७५ वर्षीय झाङ चीनको शक्तिशाली केन्द्रीय सैन्य आयोग (CMC) का वरिष्ठ उपाध्यक्ष र राष्ट्रपति सि जिनपिङका वर्षौँदेखिका सबैभन्दा भरपर्दो सहयोगी मानिन्थे।
उनीसँगै संयुक्त कर्मचारी विभागका प्रमुख जनरल लिउ झेन्ली (Gen. Liu Zhenli) माथि पनि अनुसन्धान सुरु गरिएको छ। चिनियाँ सैन्य इतिहासमै यति उच्च तहका अधिकारीहरूलाई एकैसाथ कारबाहीको दायरामा ल्याइनुलाई निकै दुर्लभ र अर्थपूर्ण घटना मानिएको छ।
यो कदमलाई राष्ट्रपति सिले आफ्नो शक्ति अझै मजबुत बनाउन र सेनाभित्रको गुटबन्दी अन्त्य गर्न चालेको ‘महा-सफाई’ (Unprecedented Purge) का रूपमा हेरिएको छ। गत अक्टोबरमा मात्रै अर्का उपाध्यक्ष हे वेइडोङलाई हटाइएको थियो भने हालैका वर्षहरूमा दुई पूर्व रक्षामन्त्रीहरू पनि भ्रष्टाचारकै मुद्दामा पदमुक्त भइसकेका छन्।
सैन्य रणनीतिकारहरूका अनुसार, ताइवानसँगको बढ्दो तनाव र सैन्य आधुनिकीकरणको लक्ष्यबीच आफ्नै नजिकका सेनापतिहरूमाथिको यो कारबाहीले चिनियाँ जनमुक्ति सेना (PLA) भित्र गहिरो राजनीतिक संकट र अविश्वास रहेको संकेत गर्छ।