मध्यावधि चुनाब हारे आफूलाई महाभियोग लगाइनेमा ट्रम्प सशंकित

मध्यावधि चुनाब हारे आफूलाई महाभियोग लगाइनेमा ट्रम्प सशंकित


  • रोयटर्स
  • बिहिबार, २४ पुष २०८२
  • 5.1K
    Shares

पोखरा , २४ पुष २०८२।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पत्तिलाई एयर स्ट्राइक गरेर राष्ट्रपति निवासबाटै अपहरण गरेर अमेरिका पुर्याएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आसन्न मध्यावधि चुनाब पछि आफुलाई महाभियोग लगाइने हो कि भनेर सशंकित देखिएका छन्।

वासिङ्टनमा आयोजित रिपब्लिकन सांसदहरूको एक भेलामा ट्रम्पले त्यस्तो आशंका व्यक्त गरेका छन्। रोयटर्सको रिपोर्ट अनुसार, उनले उक्त भेलामा भनेका छन् ‘तपाईंहरूले मध्यावधि चुनाव जित्नैपर्छ, किनकि यदि हामीले जितेनौं भने उनीहरूले (डेमोक्रयाटहरूले) मलाई महाभियोग लगाउने कुनै न कुनै कारण खोज्नेछन् । मलाई महाभियोग लगाइनेछ ।’

ट्रम्पले सन् २०२६ को कंग्रेस चुनावमा रिपब्लिकनहरूले जसरी पनि जित्नुपर्नेमा जोड दिए । ट्रम्पले अहिले आगामी नोभेम्बर २०२६ मा हुने मध्यावधि चुनावका लागि एजेन्डा तय गरिरहेका छन् । उनले आफूविरुद्ध हुन सक्ने सम्भावित अनुसन्धान र आरोपहरूबाट बच्न यो चुनावलाई महत्त्वपूर्ण मानेका छन् ।

उनले आफ्ना सांसदहरूलाई आपसी मतभेद त्याग्न र अमेरिकी जनता माझ स्वास्थ्य सेवा, निर्वाचन निष्पक्षता र लैङ्गिक विषय जस्ता नीतिहरू लैजान आग्रह गरे। विशेषगरी महँगीका कारण आक्रोशित जनतालाई रिझाउन उनले निर्देशन दिएका छन् ।

ट्रम्पले भने, ‘राष्ट्रपतिको चुनाव जित्नेले मध्यावधि चुनाव हार्छ भनिन्छ । जनताको दिमागमा आखिर के चलिरहेको छ भनेर मलाई बुझाउनुहोस् ।’

सञ्चारमाध्यम फर्स्टपोस्टका अनुसार, करिब ८४ मिनेट लामो भाषणमा ट्रम्पले भेनेजुएला हस्तक्षेपको बारेमा थोरै मात्र बोले भने सेयर बजारको बढोत्तरी र जनवरी ६, २०२१ मा भएको क्यापिटल हिल आक्रमणको बारेमा बढी चर्चा गरे ।

भाषणका क्रममा उनले ठट्टा गर्दै भने, ‘मादुरोले मेरो ‘नाच्ने शैली’ कपी गरेका छन्।’ उनले आफ्नी श्रीमती मेलानिया ट्रम्प निकै परिष्कृत रहेको र उनले सार्वजनिक ठाउँमा डान्स गर्न रोक लगाउँदै ‘यो राष्ट्रपतिका लागि सुहाउने कुरा होइन’ भन्ने गरेको सुनाए ।

ट्रम्पले डेमोक्र्याटहरूको ‘ओबामाकेयर’ सम्बन्धी सन्देशलाई कडा टक्कर दिन रिपब्लिकनहरूलाई आग्रह गरे। उनले स्वास्थ्य सेवाको मुद्दामा रिपब्लिकनहरूले आफ्नो पकड जमाउनुपर्ने भन्दै सांसदहरूलाई भने, ‘यो धेरै महत्त्वपूर्ण मुद्दा हो, स्वास्थ्य सेवाको स्वामित्व लिनुहोस्। यसको समाधान खोज्नुहोस् ।’

ट्रम्पको २०१७-२०२१ को कार्यकालमा डेमोक्र्याट नेतृत्वको ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ ले उनलाई दुई पटक महाभियोग लगाएको थियो। यद्यपि, दुवै पटक सिनेटले उनलाई सफाइ दिएको थियो ।

अहिले ट्रम्पले अध्यागमनदेखि सैन्य कारबाही र संघीय नियमनसम्मका क्षेत्रमा एक्लै निर्णय गर्न सक्ने गरी आफ्नो शक्ति विस्तार गरिरहेका छन् । यसैबीच, उनले लगाएको भन्सार शुल्क संवैधानिक रूपमा कंग्रेसको अधिकार क्षेत्रमा पर्ने हो कि होइन भन्नेबारे सर्वोच्च अदालतको महत्त्वपूर्ण फैसला आउन बाँकी छ ।

प्रतिक्रिया