पोखरा, २२ पुष २०८२।
एउटा सार्वभौम देश भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई मध्यरातमा आफ्नै निवासमा सुतिरहेको बेला एयर स्ट्राइक गरेर अपहरण गरी अमेरिका पुर्याएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अझै उक्सिएका छन्। मादुरोको गिरफ्तारीविरुद्ध विश्वभरका धेरै देशहरूमा प्रदर्शन भइरहेका छन् । विभिन्न देश र त्यहाँका जनताहरुले तत्काल मादुरोलाई रिहा गर्न माग गरिरहेका छन् ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी स्वार्थका लागि भेनेजुएला जस्तै अन्य देशहरुमा पनि आक्रमण गर्न सक्ने आंकलन गरिएका छन्। त्यति मात्र हैन, अब उनको टार्गेट कुन देश हो भनेर अन्तरराष्ट्रिय समुदायमा संसय मच्चिएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच अन्य देशहरूबारे कडा दृष्टिकोण राख्दै आएका छन् । ती देशहरूमा मेक्सिको, इरान, कोलम्बिया, क्युबा र ग्रीनल्यान्ड छन् । ट्रम्पले यी देशहरूमाथि किन ‘गिद्दे नजर’ लगाइरहेका छन् भन्ने सम्बन्धमा विभिन्न विश्लेषण गरिएका छन् ।
मेक्सिकोलाई चेतावनी
भेनेजुएलामा आक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले खुला रूपमा विश्वलाई धम्की दिइरहेका छन् । ट्रम्पले एकपछि अर्को गर्दै धेरै देशहरूलाई खुला धम्की दिएका छन् । ट्रम्पले अमेरिकाको छिमेकी देश मेक्सिकोलाई चेतावनी दिँदै कडा सन्देश दिएका छन् । उनले भने, “मेक्सिकोले आफ्नो अवस्था सुधार्नुपर्छ, किनकी ड्रग्स मेक्सिकोको बाटो हुँदै आउँछन् र हामीले केही गर्नुपर्छ ।”
ट्रम्पले मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबामलाई उत्कृष्ट व्यक्ति बताउँदै भने, “जब मैले उनीसँग कुरा गरेँ, मेक्सिकोमा अमेरिकी सैनिक पठाउने प्रस्ताव राखेँ । उनले मेक्सिको सरकार यो मुद्दा सम्हाल्न सक्षम रहेको बताइन् । तर, दुर्भाग्यवश मेक्सिकोमा कार्टेलहरू धेरै शक्तिशाली छन् । चाहे तपाईंलाई मन परोस् वा नपरोस्, ड्रग्स कार्टेलहरूले नै मेक्सिको चलाउँछन् ।”
मेक्सिकोविरुद्ध ट्रम्पको दृष्टिकोण कडा छ । अमेरिकी राष्ट्रपति ट्रम्पले लामो समयदेखि आप्रवासन र ड्रग्सको मुद्दामा मेक्सिकोको कडा आलोचना गर्दै आएका छन् । ट्रम्पले हालै सिन्थेटिक ड्रग फेन्टानिलको आपूर्तिविरुद्ध मेक्सिकोमाथि २५ प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने धम्की दिएका थिए ।
क्युबाको सरकार ढल्ने निश्चित : ट्रम्प
अमेरिकी राष्ट्रपतिले क्युबाको बारेमा पनि ठूलो बयान दिएका छन् । ट्रम्पले भने, “क्युबा ढल्न तयार छ । भेनेजुएलापछि क्युबा समाप्त भइसकेको छ । यसको कुनै आम्दानी छैन । यसरी क्युबाको सरकार ढल्न निश्चित छ । उनीहरूको सबै आय भेनेजुएलाको तेलबाट आउँथ्यो । अब उनीहरूलाई त्यो केही पनि मिल्दैन र क्युबा साँच्चै ढल्न तयार छ ।”
क्युबा लामो समयदेखि अमेरिकाको विरोधी रहँदै आएको छ । भेनेजुएलामा अमेरिकी कारबाहीका क्रममा क्युबाका ठूलो संख्यामा सैन्य अधिकारीहरूको मृत्यु भएको छ । क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेल भेनेजुएलामा आक्रमण र निकोलस मादुरोको गिरफ्तारीको विषयमा निरन्तर अमेरिका र ट्रम्पको निन्दा गर्दै आएका छन् । अमेरिकाले सन् १९६० देखि नै क्युबाविरुद्ध ठूलोस्तरको व्यापार प्रतिबन्ध लगाएको छ । लामो समयसम्म अमेरिका र क्युबाबीच कूटनीतिक सम्बन्ध पनि थिएन ।
ग्रीनल्यान्डमाथि पनि ट्रम्पको नजर
भेनेजुएलामा राष्ट्रपति मादुरोको गिरफ्तारीपछि ट्रम्प झन् आक्रामक बनेका छन् । उनले डेनमार्कको स्वायत्त क्षेत्र ग्रीनल्यान्ड कब्जा गर्ने कुरा गरेका छन् । ट्रम्पले भनेका छन्, “हामीलाई राष्ट्रिय सुरक्षाका लागि ग्रीनल्यान्ड चाहिन्छ । यो धेरै रणनीतिक छ र अहिले ग्रीनल्यान्ड चारैतिर रुसी र चिनियाँ जहाजहरूले घेरिएको छ । ग्रीनल्यान्ड वरिपरि रुस र चीनको हस्तक्षेप धेरै छ ।” ट्रम्पको यो भनाइले युरोपमा हड्कम्प मच्चाएको बताइएको छ ।
ग्रीनल्यान्ड डेनमार्कको अधीनमा रहेको स्वायत्त देश हो । यसको जनसंख्या ५७ हजार मात्र छ । यद्यपि, यो देश सैन्य रक्षा, रेअर अर्थ मिनरल्स जस्तै फलाम, युरेनियम र जिंकका ठूला भण्डार तथा सम्भावित नयाँ शिपिङ रुटहरू (नर्थवेस्ट प्यासेज)का कारण महत्त्वपूर्ण मानिन्छ । ट्रम्पले बारम्बार ग्रीनल्यान्डलाई अमेरिकामा गाभ्ने कुरा गर्दै आएका छन् । ग्रीनल्यान्ड नेटोको सदस्य देश हो ।
डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले डोनाल्ड ट्रम्पलाई भनेकी छन्, “उनीहरूले ग्रीनल्यान्ड कब्जा गर्ने धम्की दिन छोडून् । डेनमार्क र ग्रीनल्यान्ड दुवै नेटोका सदस्य हुन् र सुरक्षा ग्यारेन्टीअन्तर्गत पर्छन् । डेनमार्क र अमेरिकाबीच पहिलेदेखि नै रक्षा सम्झौता छ, जसले ग्रीनल्यान्डसम्म पहुँच दिन्छ ।”
कोलम्बियालाई दिइयो ठूलो चेतावनी
ट्रम्पले अर्को ल्याटिन अमेरिकी देश कोलम्बियालाई पनि चेतावनी दिएका छन् । ट्रम्पले पत्रकारहरूसँग कुराकानी गर्दै कोलम्बिया र भेनेजुएला दुवै धेरै बिरामी देशहरू रहेको बताए । ट्रम्पले थप भने, “कोलम्बियामा सरकार एउटा बिरामी व्यक्तिले चलाइरहेको छ, जसलाई कोकिन बनाउन र अमेरिकालाई बेच्न मन पर्छ । म तपाईंहरूलाई के भन्छु भने ऊ धेरै समयसम्म यस्तो गर्न सक्दैन ।”
ट्रम्प कोलम्बियाका राष्ट्रपति गुस्तावो पेट्रोका प्रमुख आलोचक हुन् । पत्रकारहरूले ट्रम्पसँग ‘तपाईंको भनाइमा कोलम्बियामा अमेरिकी कुनै अपरेसन हुन्छ ?’ भनेर प्रश्न गर्दा ट्रम्पले भने, “यो विचार मलाई राम्रो लाग्यो ।”
ट्रम्पले लामो समयदेखि कोलम्बियामा ड्रग्सका फ्याक्ट्री सञ्चालन हुने आरोप लगाउँदै आएका छन् । यद्यपि, कोलम्बियाका राष्ट्रपति गुस्तावो पेट्रोले सुरुदेखि नै ट्रम्पका आरोपहरू अस्वीकार गर्दै आएका छन् । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारीपछि पेट्रोले अमेरिका र राष्ट्रपति ट्रम्पको कडा आलोचना गरेका छन् । उनले यसलाई दक्षिण अमेरिकाको सार्वभौमिकताको अपमान भनेका छन् ।
इरानलाई ठूलो झट्का दिनेछौँ : ट्रम्प
इरानमा विगत केही दिनदेखि सरकारविरुद्ध जनप्रदर्शन जारी छ । यस क्रममा प्रहरी कारबाहीमा ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको छ । यसैबीच इरानमा अमेरिका र इजरायलविरुद्ध पनि प्रदर्शन भइरहेका छन् ।
यस्तो अवस्थामा ट्रम्पले इरानलाई ठूलो चेतावनी दिएका छन् । ट्रम्पले भने, “हामी तिनीहरूमाथि धेरै नजिकबाट निगरानी गरिरहेका छौँ । यदि तिनीहरूले पहिले जस्तै मानिसहरूलाई मार्न थाले भने, अमेरिकाले तिनीहरूलाई धेरै जोडदार झट्का दिनेछ ।”
यसअघि ट्रम्पले इरानका बारेमा भनेका थिए, “यदि इरानले शान्तिपूर्ण प्रदर्शनकारीमाथि गोली चलायो र तिनीहरूलाई क्रूरतापूर्वक मार्यो भने, अमेरिकाले तिनीहरूको सहयोगका लागि अगाडि आउनेछ । हामी पूर्ण रूपमा तयार छौँ र कारबाहीका लागि उत्सुक छौँ ।”
यसमा इरानले जवाफ दिएको थियो, “अमेरिकालाई के थाहा हुनुपर्छ भने हाम्रा आन्तरिक विषयमा हस्तक्षेप गर्नु सम्पूर्ण क्षेत्रमा आतंक फैलाउनु जस्तै हो, र ट्रम्पले यो सुरु गरेका छन् । उनीहरूले आफ्ना सैनिकहरूको चिन्ता गर्नुपर्छ ।”