पोखरा , १७ पुष २०८२।
सम्पत्ति शुद्धीकरण विभागले देउराली सहकारी ठगी प्रकरणमा अध्यक्ष रवीन्द्र चौलागाईंसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दायर गरेको छ ।
सहकारीको रकम अपचलन गरी आर्जित सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा विभागले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष चौलागाईंसहित उनकी पत्नी पूजा खत्री र राजेन्द्र खत्रीसमेतलाई प्रतिवादी कायम गरेर बुधबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सातदोबाटो (ललितपुर), शाखा कार्यालय न्युरोड (काठमाडौँ) र भक्तपुरमा समेत रकम अपचलन गरी चौलागाईंसमेतका नाममा काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र झापालगायतका स्थानमा घडेरी र जग्गा खरिद तथा विभिन्न कम्पनी खडा गरी लगानी गरेर सम्पत्ति शुद्धीकरण गरेको दाबी गरिएको छ। कुल दुई अर्ब ६८ करोड ५१ लाख १६ हजार चार सय ३१ रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दाबी विभागको छ।
सम्पत्ति जफत प्रयोजनका लागि मनोज भण्डारीलाई पनि प्रतिवादी कायम गरिएको छ।