पुजारी जन्त्रीदास वैरागीको हत्या आरोपी गाउँपालिका अध्यक्ष मण्डल अदालतमा उपस्थित 

पुजारी जन्त्रीदास वैरागीको हत्या आरोपी गाउँपालिका अध्यक्ष मण्डल अदालतमा उपस्थित 


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ पुष २०८२
  • 5.9K
    Shares

राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल

पोखरा , १७ पुष २०८२।

२७ वर्ष अघि सप्तरीमा भएको पुजारी जन्त्रीदास वैरागीको हत्या आरोप लागेका सप्तरीको राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल बुधबार अदालतमा उपस्थित भएका छन्।

सप्तरीको रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको २०५५ सालको साउन ३ गते भएको हत्या मुद्दामा फरार रहेको भनिएका गाउँपालिका अध्यक्ष बुधबार बिहान सप्तरी जिल्ला अदालतमा उपस्थित भएका हुन्।

अदालतमा हाजिर भए लगत्तै न्यायाधीश रोमनाथ अधिकारीको दुई नम्बर इजलासमा उनको बयान लिने काम भएको थियो। तर थुनछेक बहस जारी रहेको अदालतका सूचना अधिकारी उमेशकुमार अर्यालले बताए ।

३ साउन २०५५ मा तत्कालीन बेल्ही चपेना गाविस–३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या भएको थियो । सो मुद्दामा पालिका अध्यक्ष मण्डलसहितका सात जनाविरुद्ध १५ वैशाख ०७८ मा पक्राउ पुर्जी जारी भएको हो ।

पक्राउ पुर्जी जारी रहेकै बेला मण्डल ३० वैशाख ०७९ मा स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए। उनी निर्वाचित भएको झण्डै १० महिनापछि १४ फागुन ०७९ मा जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले मुद्दा मुल्तबीमा राखेका थिए ।

अभियुक्तमध्येका तत्कालीन बेल्ही चपेना गाविस–३ (हाल राजगढ–४) का रामनारायण मण्डल २ पुसमा नै अदालतमा हाजिर भएका थिए । ३ पुसमा अदालतका न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको एकल इजलासले मण्डललाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि अध्यक्ष मण्डल पनि हाजिर भएका हुन् । सो मुद्दाका अन्य अभियुक्त गाउँपालिका अध्यक्ष मण्डलकै बुवा तत्कालीन बेल्ही चपेना गाविसका अध्यक्ष गंगाराम मण्डल, सोही ठाउँका रामदेव सदा मुसहर, मनिक शर्मा, बौकाई भनिने बच्चा यादव र भोलिचन सदा मुसहर अझै फरार छन् ।

अभियोगपत्रअनुसार अध्यक्ष मण्डलकै बुवा गंगारामले मन्दिरको ११ बिघा जग्गाको धान मन्दिरलाई दिन नमान्दा विवाद भएको थियो ।

प्रतिक्रिया