दाम्लोमा बाँधिएर बस्नुपर्ने जन्मजात बहुअपाङ्गता भएका २६ वर्षीय झलकको बाध्यता र आमाको पीडादायक दैनिकी

दाम्लोमा बाँधिएर बस्नुपर्ने जन्मजात बहुअपाङ्गता भएका २६ वर्षीय झलकको बाध्यता र आमाको पीडादायक दैनिकी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ पुष २०८२
  • 5.9K
    Shares

तनहुँ, ६ पुस २०८२।

२६ वर्षीय छोरा झलक विकलाई आँगनको छेउमा दाम्लोले बाँधेर हिड्नु पर्दा कालिमाया विकलाई मन कटक्क खान्छ। तर उनी त्यसो गर्न बाध्य छिन्।

जन्मजात बहुअपाङ्गता भएका झलक त्यत्तिकै छाडिदिने हो भने जताततै घिस्रेर हिँड्छन्, कहिले अनियन्त्रित रूपमा दिशापिसाब कपडामै गरिदिन्छन। त्यो देखेर छिमेकी र वरपरका मान्छेहरु छि : छि र दुर – दुर गर्छन। त्यो देख्दा त कालिमायालाई हुनु सम्मको पिडा हुन्छ। तैपनि उनी सहन बाध्य छिन।

छिमेकी र वरपरका मानिसहरु आफ्नो छोरा” बहुअपाङ्गता भएको मानिस हो र आफ्नो दिशापिशाब समेत समेट्न सक्दैन” भन्ने कुरा धेरैलाई थाहा छैन र थाहा पाएका पनि थाहा नपाए जस्तो गरिदिन्छन। दाम्लोमा बाँधिएर बस्नुपर्ने जन्मजात बहुअपाङ्गता भएका झलकको बाध्यता र आफैले जन्माएको छोरालाई दाम्लोमा बाँधेर हिड्नुपर्ने कालीमायाको पिडा कसैले बुझेका छैनन्।

जन्मजात बहु अपाङ्गता भएका तनहुँका झलक बिक : भिडियो इश्वर बास्तोला

जन्मजात बहुअपाङ्गता भएका आफ्नो छोरा पाल्न उनी छोरालाई घरको आँगनमै दाम्लोमा बाँधेर घरबाट निस्किन्छन्, दाम्लोमा बाँधिए पछि भने उनी शान्तसँग बस्छन।

जिविको चलाउन समेत कालिमायाका लागि समेत मुस्किल छ। उनी छोराको उपचार कसरी गरुन् ? त्यही छोरा बोकेर उनले जनप्रतिनिधिहरु , सरकारी कार्यालयहरु र बिभिन्न एनजीओ-आइएनजीओका ढोकाहरु चाहरेकी छिन्। तर उनलाई सहयोग गर्ने आश्वासन बाहेक कसैले सहयोग गरेका छैनन्।

कता न कता रिसेड तनहुँले अपाङ्ग छोराको लागि भनेर ह्विलचेयर दिएको थियो। तर त्यो पनि चढाउन–झार्न नसकिने, लड्ने डर भएकाले अहिले घरको कुनामा राखिदिएकी छिन्।

झलक चार वर्षका हुँदा कालिमायाको संसार नै भत्कियो। श्रीमान् गुमे। त्यसपछि उनी एक्लै आमाबाबु दुवै बनिन्। अपाङ्गता भएका छोराको हेरचाह, उपचार, अनि घरखर्च—सबै बोझ एउटै काँधमा छ। उनी अपाङ्गता भएको आफ्नो छोरालाई बाँध्न नपर्ने एउटा कोठा बनाइदिने दाता वा संघ – संस्थाको खोजीमा छिन्। तर उनले आजसम्म कुनै दाता वा संघ-संस्था पाएकी भने छैनन्।

कालिमायाको माग ठूलो छैन। उनले राज्यसँग महल मागेकी छैनन्। उनी भन्छिन्, “छोरालाई बाँध्न नपर्ने एउटा कोठा चाहिएको हो।” घाम लाग्ने सानो बरन्डा, सुत्न मिल्ने सुरक्षित ठाउँ र शौचालय—यत्ति भए उनको मनले शान्ति पाउँथ्यो।

के हाम्रो समाजमा एउटा अपाङ्गता भएको मानिसलाई उपयुक्त हुन् कोठा बनाइदिने दाता वा संघ-संस्था नै छैनन् त ? गरीब, दु:खी अपाङ्गता र असहायका नाममा दैनिक करोडौं रुपियाँ खर्च हुन्छ , के उनीहरुको परिभाषामा जन्मजात बहुअपाङ्गता भएका झलकको बाध्यता र पिडा पर्दैन ? स्थानीय तहले अपाङ्गता भएकाहरुका नाममा वार्षिक खर्चिने लाखौँ रुपियाँ झलक जस्ता जन्मजात बहुअपाङ्गता भएका व्यक्तिहरुलाई दिन नहुने हो ? जन्मजात बहुअपाङ्गता भएका झलक पनि राजनीतिक पार्टीको झोले नै बन्नु पर्ने हो त ?

व्यास–८ अपाङ्गता स्वावलम्बन समूहकी सचिव शोमा लम्साल र राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशकी सदस्य सङ्गीता शर्माले पनि झलकको अवस्था राज्यले गम्भीरतापूर्वक लिनुपर्ने बताउँछन्।

झलकको दाम्लोले बाँधिएको जीवन देख्दा अपाङ्गता अधिकारकर्मी ईश्वर बास्तोलाको मन पनि भारी भएको छ। उनले सरोकारवाला निकायसँग समन्वय गरी झलकका लागि सुरक्षित कोठा निर्माणमा पहल गरिने बताएका छन्।

प्रतिक्रिया