पोखरा, १७ मङ्सिर २०८२।
भारतीय सेनाका जवानले खिचेको भन्दै दाबी गरिएको एक भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल भईरहेको छ। भिडियोमा मानव सुरक्षाकर्मीको स्थानमा ‘रोबोट’ जस्तै देखिने आकृति लेक-छेवैको निर्जन भूभागमा निगरानीमा खटिएको झैँ देखिन्छ। क्यामेरा जुम–आउट हुँदै जाँदा वरपरको पहाडी भू–भाग प्रस्ट देखिन्छ, जसले चीनले LAC (लाइन अफ एक्चुअल कन्ट्रोल) क्षेत्रमा रोबोटिक सैनिक तैनाथ गरेको अड्कललाई झनै बढाएको छ।
भारतीय सेनाका अधिकारीहरूका अनुसार आधुनिक युद्ध प्रणालीमा ठूला परिवर्तन हुँदैछन्—ड्रोन, कृत्रिम बुद्धिमत्ता (AI) र रोबोटिक्स युद्धभूमिका सक्रिय हिस्सा बन्दैछन्। अमेरिका र चीन वर्षौंदेखि रोबोटिक सैनिक विकासमा तीव्र गतिले अघि बढिरहेका छन्, जसले भविष्यका भिडन्तमा मानव क्षति घटाउन सक्ने बताइन्छ। केही दिनअघि चीनले ताइवान सीमामा रोबोटिक सैनिक प्रयोग गर्न सक्ने रिपोर्ट सार्वजनिक भएको थियो।
यस्तै बेला आएको भाइरल भिडियोले चीनले भारततर्फको LAC मा पनि ‘किलर रोबोट’ तैनाथ गरिसकेको संकेत गरेको भन्दै चर्चा चुलिएको छ। भिडियोमा देखिएको आकृति वास्तवमै रोबोट हो कि साधारण निगरानी उपकरण, यसको पुष्टि भने भइसकेको छैन। तर यसले सामाजिक सञ्जालमा निकै बहस जन्माएको छ, विशेषगरी चीनको सैन्य तयारीलाई लिएर धेरैले चिन्ता व्यक्त गरेका छन्।
भारत र चीनले LAC क्षेत्रमा ‘नो–फायर’ स्थिति कायम राखिरहेका छन्। २०२० को गलवन उपत्यकामा भएको भिडन्तपछि दुवै देशबीच तनाव अत्यधिक बढेको थियो, जसमा चिनियाँ सेनाले ‘स्पाइक्ड रड’ प्रयोग गरेको व्यापक आलोचना भएको थियो। अब, यो नयाँ भिडियोपछि धेरैले चीन ‘मेसिन बनाम मानव’ वा ‘रोबोट बनाम सैनिक’ युद्धको तयारी गरिरहेको हो कि भन्ने सवाल उठाएका छन्।
चीन पहिले नै स्वर्म–ड्रोन (थुप्रै ड्रोनहरूको समन्वित आक्रमण प्रणाली) निर्माण गरिसकेको छ र यसलाई थप उन्नत बनाइरहेको बताइन्छ।
युद्ध, प्रविधि र वास्तविकताबीचको सीमारेखा दिनदिनै धमिलो हुँदै जाँदा LAC भविष्यमा ‘रोबोटिक युद्ध परीक्षण क्षेत्र’ बन्ने सम्भावना देखिएको विश्लेषणकर्ताहरू बताउँछन्। आज निर्जन पहाडमा देखिएको अनौठो आकृति भोलि स्वचालित गस्ती इकाइ, AI–सञ्चालित लडाकु टुकडी, तथा डिजिटल निगरानी संयन्त्रमा विकसित हुन सक्छ।
भारत र चीन—दुबै परमाणु–सज्जित राष्ट्र—द्रुत गतिमा प्रविधि–केन्द्रित सैन्य क्षमतातर्फ उन्मुख भइरहेका बेला रोबोटिक युद्ध प्रणालीले युद्धका पुराना नियम–कानुन र रणनीतिहरै परिवर्तन गरिदिनसक्ने अनुमान गरिएको छ।
मानव सैनिकहरू अग्रमोर्चामा उभिने समय क्रमशः घट्दै गएको विश्लेषणहरू भन्छन्। मशीनहरू नै युद्धको पहिलो लाइनमा उत्रिने नयाँ युग सुरु हुन लागेको संकेत यो भाइरल भिडियोले दिएका धेरैमध्ये एक हो।