पोखरा १४ मङ्सिर २०८२।
काठमाण्डौमा हुने ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट प्रक्रियाले नेकपा एमाले कास्कीमा भुँइंचालो गएको छ।
सहमतिका नाममा चुनाब नगराई पार्टीको नेतृत्वले आफूखुशी महाधिबेशन प्रतिनिधि चयन गराए पछि एमाले कास्कीमा भुँइंचालो गएको छ।
पार्टीको जिल्ला समिति बैठकले चुनाब नगराई सहमति कायम गर्ने जिम्मा पाएका पार्टीका जिल्ला अध्यक्ष बैन बहादुर क्षेत्रीले आफ्नो अधिकार पार्टीका केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्मालाई दिएको समाचारस्रोतहरुले जानकारी दिएका छन्।
पृथ्वी सुब्बा गुरुङ पक्षधर भनेर चिनिएका नेताका विश्वकर्माले आफ्नो पक्षका नेताहरुलाई मात्र महाधिबेशन प्रतिनिधि बनाएको असन्तुष्ट पक्षधरहरुले आरोप लगाएका छन्। असन्तुष्टि जनाउने नेताहरुमा खगराज अधिकारी पक्षधर नेताहरु रहेका छन्। अद्यापि नेकपा एमाले कास्कीमा नेता खगराज अधिकारी पक्षधरहरुको एकछत्र राज रहेको छ।
नेता विश्वकर्माले सहमतिका नाममा २३ जना प्रतिनिधिहरुको नाम तयार गरेर सार्वजनिक गर्ने तयारीमा रहेको समाचार स्रोतहरु बताउछन। तर ब्यापक बिबाद र असन्तुष्टिका कारण मनोनित भएका महाधिबेशन प्रतिनिधिहरुको नाम अझै सार्वजनिक गरिएको छैन।
प्राप्त समाचार अनुसार , विश्वकर्माको समुहले कास्की क्षेत्र नम्बर १ बाट उत्पीडित वर्गको प्रतिनिधिका रुपमा दाम्बहादुर बिश्वक्रमा र प्रेमबहादुर विश्वकर्मालाई तथा महिला क्षेत्रवाट बिजया सुबेदी , नारायणी भट्टराई ‘रक्षा’लाई र ४० वर्ष मुनिका युवाहरुको प्रतिनिधिका रुपमा रुपा गाउन्पालिकाका अध्यक्ष नवाराज ओझालाई राखेका छन। कास्की निर्वाचन क्षेत्र नम्बर १ मा खुल्लाक्षेत्रबाट टिकाराम पंगेनी , पार्टीका जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, बेदबहादुर गुरुङ ‘श्याम ‘ र पार्टी जिल्ला सचिव दर्शन लामालाई राखेका छन्।
कास्की क्षेत्र नम्बर २ मा महिला क्षेत्रबाट सिर्जना शर्मा र हिरा गिरि तथा ४० वर्ष मुनिका युवाहरुको तर्फबाट बिजय पौडेल चयन हुँदा खुल्लातार्फबाट तेजनारायण अधिकारी , रामप्रसाद खनाल , भेषराज बराल र रश्मि आचार्यलाई महाधिबेशन प्रतिनिधि बनाइएको छ।
कास्की क्षेत्र नम्बर ३ बाट महिलातर्फ गीता बिश्वकर्मा र शोभा पहारी,४० वर्षमुनिका समूहबाट भरत गुरुङ ‘कोने ‘ चयन हुँदा खुल्लातार्फबाट दिपक पौडेल , जगन्नाथ बास्तोला, माधब बास्तोला र लाल बहादुर परियारलाई महाधिबेशन प्रतिनिधि बनाइएको छ।
यता नेर्ता जगतबहादुर विश्वकर्माले महाधिबेशन प्रतिनिधिहरुको नाम सार्वजनिक गरिरहदा एमाले नेता – कार्यकर्ताहरुमा ब्यापक असन्तुष्टि देखिएको छ। नेता खगराज अधिकारी निकट मानिने पत्रकार कमल सुबेदीले सामाजिक संजाल फेसबुकमार्फत पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गर्न आव्हान गर्दै एक स्टाटस राखेका छन्। उनले अघि लेखेका छन्,”एमाले कास्कीका नेताले मन लाग्दी गोजिबाट नाम निकाल्ने तयारी हुदा युबाहरु पार्टी कार्यालयमा तालाबन्दी गर्ने तयारीमा छन ११:३० मा जिल्ला पार्टी कार्यालय तिरै भेटौ ।”
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अति निकट ठानिएका प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सुमन ढुंगानाले सामाजिक संजाल फेसबुकमा एउटा कडा स्टाटस पोस्ट गर्दै ,”अवसरवादी र हरुवाहरुको कव्जामा कास्की जाँन्न, कार्यकर्ताको अधिकार प्रयोग गर्न देउ,अब केहीबेरमा कास्की कार्यालय जाँउ दबाब दिउँ ।” भनेका छन्।