पोखरा १० मङ्सिर २०८२।
चर्को आवाजमा प्याट्ट प्याट्ट र भ्यार्र भ्यार्र पारेर जनतालाई आतंकित हुने गरी रोयल इंग्ल्याण्ड मोटरसाइकल चढ्ने एक युवा लागू औषध ब्राउनसुगर बिक्री गरिरहेको अवस्थामा पोखराबाट पक्राउ परेका छन्।
पोखरा महानगरपालिका वडा नं. १ बगर बस्ने बर्ष २८ को मनोज श्रेष्ठ लागू औषध ब्राउनसुगर बिक्री गरिरहेको अवस्थामा पोखरा २६ विजयपुरस्थित कालिकाचोकबाट गत सोमबार साँझ पांच बजे पक्राउ परेका हुन्।
उनको साथबाट प्रहरीले लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) १.३ ग्राम र रोयल इंग्ल्याण्ड मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका अभियुक्त श्रेष्ठबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।