टीओबीका सदस्य तेन्जिनबिरुद्ध अब लागुऔषध, लिखत किर्ते र आपराधिक उपद्रवका कसुरमा पनि मुद्दा चलाउने तयारी

टीओबीका सदस्य तेन्जिनबिरुद्ध अब लागुऔषध, लिखत किर्ते र आपराधिक उपद्रवका कसुरमा पनि मुद्दा चलाउने तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ कार्तिक २०८२
  • 6.2K
    Shares

पोखरा, १७ कार्तिक २०८२ ।

हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) समूहका सदस्य तेन्जिन दावा लामाको कोठाबाट प्रहरीले लागुऔषध बरामद गरेको छ।

काठमाण्डौको बिजुलीबजारस्थित पुलमा पेस्तोलसहित देखिएको फोटो भिडिओ सार्वजनिक भएपछि उनलाई प्रहरीले असोज २६ गते पक्राउ गरेर अभद्र व्यवहारमा म्याद थप गर्दै अनुसन्धान अगाडी बढाएको थियो। पेस्तोल नक्कली भएको र फोटो भिडिओ पनि पूरानो भएको पाइएपछि प्रहरीले अभद्र व्यवहारमै म्याद लिइरहेको थियो। तर प्रहरीले अनुसन्धान गर्दै जाँदा उनका अरु कसुर फेला पारेको हो।

उनीबिरुद्ध प्रहरीले तीनवटा कसुरमा अनुसन्धान अघि बढाएको छ। यसअघि अभद्र व्यवहारको कसुरमा मात्रै म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले तेन्जिनको कोठाबाट लागुऔषध बरामद भएसँगै मुद्दा परिवर्तन गरेको हो। प्रहरीले उनीविरुद्ध लागुऔषध, लिखत किर्ते र आपराधिक उपद्रवका कसुरमा पनि मुद्दा चलाउने तयारी गरिरहेको प्राप्त समाचारमा जनाइएको छ।

लागुऔषधको कसुरमा अनुसन्धान अगाडी बढाएसँगै प्रहरीले अब ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाउनेछ। यसअघि उनको नागरिकतामा पनि प्रस्न उठेको थियो। उनको जन्म मिति र नागरिकतामा फरक फरक विवरण भेटिएपछि प्रहरीले कीर्तेको कसुरमा पनि अनुसन्धान अगाडी बढाएको हो।

उनको नागरिकता र जन्म मितिको विवरण माग गर्दै प्रहरीले सम्बन्धित वडालाई पत्राचार गरेको थियो। काठमाडौँ महानगरपालिकाको वडा नं ६ ले उक्त विवरण फेला नपरेको जवाफ प्रहरीलाई पठाएको थियो।

जेनजी आन्दोलन हिंसात्मक बनाउन यो समूहको पनि मुख्य भूमिका देखिएको प्रहरीको दाबी छ। शुरुमा शान्तिपूर्ण रुपमा अगाडी बढेको आन्दोलनलाई २३ गते उग्र बनाउन, निषेधित क्षेत्र तोडेर अगाडी बढ्न मोटरसाइकलसहित ठूलो संख्यामा उत्रिएको यो समूहले उस्काएको भिडिओ सार्वजनिक भएको छ।

प्रतिक्रिया