पोखरा, १६ कार्तिक २०८२ ।
धनुषामा गएराती बसले अटोलाई ठक्कर दिँदा दुई जना दम्पत्तिसहित चार जनाको मृत्यु भएको छ।
विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र.०१-००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र.२-०१-००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ करिब ६:५० बजे वीरेन्द्रबजारस्थित लोकमार्गमा ठक्कर दिंदा दुई जना दम्पत्तिसहित चार जनाको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा मृत्यु भएका चार मध्ये अटोमा सवार गणेशमान चारनाथ नगरपालिका–४ का ४० वर्षीय रमेश मगर र उनकी श्रीमती ३५ वर्षीया निशा मगर, सोही नगरपालिका-१ का ३५ वर्षीय शम्भु मगर र ४० वर्षीय डमर राईको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतक चारै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल र न्युरो अस्पताल जनकपुरमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, मृतक दम्पतीका दुई बालबालिका गम्भीर घाइते भएका छन्।
उनीहरूका १४ वर्षीया छोरी सितल र ८ वर्षीय छोरा रोशन गम्भीर घाइते भएका छन्। उनीहरूको अवस्था चिन्ताजनक रहेको र जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध पारेका छन्। दुर्घटनापछि आक्रोशित करिब चार सयको हाराहारीमा स्थानीयले राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै दुवैतर्फी यातायात अवरुद्ध पारेका छन्।
स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले ठक्कर दिने बसका चालक कैलालीका ३६ वर्षीय अनिल डगौरा थारुलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले प्रदर्शनकारीहरूलाई सम्झाई-बुझाई गरी राजमार्ग खुलाउने प्रयास गरिरहेको जनाएको छ। यद्यपि स्थिति तनावग्रस्त रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।