वैशाख २८/ स्थानीय तहको निर्वाचनका कारण एकपटक सरिसकेको कक्षा ११ को परीक्षा तोकिएकै समयमा गर्ने वा नगर्ने भन्नेमा अन्योल बढेको छ । स्थानीय तहको निर्वाचन दुई चरणमा हुने भएपछि १ असारदेखि हुने भनिएको कक्षा ११ को परीक्षा अन्योलमा परेको हो ।
प्रदेश नम्बर ३, ४ र ६ मा ३१ वैशाख र प्रदेश नम्बर १, २, ५ र ७ मा ३१ जेठमा निर्वाचन गर्ने सरकारको तयारी छ । दोस्रो चरणको चुनाव ३१ जेठमा हुने वा नहुने निश्चित भएपछि कक्षा ११ को परीक्षाको मिति निर्धारण गर्ने रणनीतिमा राष्ट्रिय परीक्षा बोर्ड रहेको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले सरकारले तोकेको समय ३१ जेठमै चुनाव भएमा परीक्षा सर्ने र चुनावको मिति अघि वा पछि भएमा तोकिएकै समयमा परीक्षा हुने बताए । यस विषयमा केही दिनमा टुंगो लाग्ने उनको भनाइ छ ।
राष्ट्रिय परीक्षा बोर्डका निमित्त परीक्षा नियन्त्रक जयन्ती सत्यालका अनुसार कक्षा ११ को परीक्षामा तीन लाखभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन् । उनले प्रश्नपत्र छपाइलगायतको तयारी भएको बताइन् । यसअघि २४ वैशाखदेखि कक्षा ११ को परीक्षा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । तर, स्थानीय चुनावका कारण मिति सारिएको थियो ।