आफ्नो पसलमा चोरी भएको भन्दै गुनासो गर्ने महिलाको सिराहामा कुटेर हत्या

आफ्नो पसलमा चोरी भएको भन्दै गुनासो गर्ने महिलाको सिराहामा कुटेर हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ कार्तिक २०८२
  • 3.7K
    Shares

पोखरा,११ कात्तिक २०८२।

आफ्नो पसलमा चोरी भएको गुनासो गरेकी एक महिलाको सिराहामा कुटेर हत्या गरिएको छ।

सिरहाको लहान नगरपालिका–५ खुट्टीखोला नजिकै पर्तीटोलस्थित छठ पूजाको घाट नजिकै संचालित् आफ्नो खुद्रा किराना पसलमा चोरी भएको गुनासो गरेकी ५० वर्षीया नुरजहाँ खातुनको कुटेर हत्या गरिएको हो।

प्रहरीका अनुसार, नुरजहाँ खातुनले मंगलबार एक युवकले पसलबाट सामान चोरी गरेको भन्दै उनले युवकका हजुरबालाई गुनासो गरेकी थिइन् । त्यसपछि ‘मेरो नातिलाई चोरको आरोप लगाउने’ भन्दै परिवारका सदस्यहरूले निर्घात कुटपिट गरेको स्थानीयले बताएका छन् ।

कुटपिटबाट घाइते भएकी उनलाई स्थानीयले उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार मृतकको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । उनका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा तीन महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया