पोखरा, ९ कार्तिक २०८२।
जेनजी आन्दोलनका क्रममा काठमान्डौको महाराजगन्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको निर्ममतापुर्वक हत्या गरेको आरोपमा थप पांच जना पक्राउ परेका छन्।
गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा असई राय र जवान थापाको निर्ममतापुर्वक हत्या गरेको आरोपमा थप पांच जना पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ र २१ वर्षीय युनिक श्रेष्ठ छन् । सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ र रामेछाप घर भएका १६ वर्षीय दीपक मगर पनि भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छन् । उनीहरुले निर्ममतापुर्वक कुटपिट गर्दा असई राय र जवान थापाको ज्यान गएको प्रहरीले दाबी गरेको छ।
यस अघि सोही आरोपमा पक्राउ परेका चार जना काठमाण्डौ जिल्ला अदालतको आदेश बमोजिम पुर्पक्षमा रहने गरी कारागार चलान भएका छन्। कारागार चलान हुनेहरूमा युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होम प्रसाद पौडेल र टिकाराम बिक छन् ।
काभ्रेको रोशी गाउँपालिका घर भएर बालुवाटार बस्ने २८ वर्षीय क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ घर भएर चन्द्रागिरी बस्ने २१ वर्षीय थिङले जवान उत्तम थापालाई कुटेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएर धुम्बाराही बस्ने ६२ वर्षीय पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएर बालकुमारी बस्ने २८ वर्षीय टिकाराम विकले असई रायको हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न रहेर पछि पक्राउ परेकाहरू विरुद्ध अनुसन्धान सकेर पूरक अनुसन्धान प्रतिवेदन पेश गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।
सुमित तितुङ र दीपक मगरलाई प्रहरीले असार ३१ देखि भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । हत्यामा संलग्न अरू ३ जना आरोपीचाहिँ कार्तिक ३ मा पक्राउ परेका हुन् ।