पोखरा ८ कार्तिक २०८२ ।
अर्घाखाँचीमा आज फोर्स गाडी दुर्घटनाग्रस्त हुँदा नौ जना यात्री घाइते भएका छन्।
जिल्लाको छत्रदेव गाउँपालिकाको छत्रगंजबाट सन्धिखर्कतर्फ जाँदै गरेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी आज दिउँसो छत्रदेव गाउँपालिका–५ डाँडाचौपारीमा ब्रेक फेल भई दुर्घटनागस्त हुँदा नौ जना यात्री घाइते भएका हुन्।
उक्त दुर्घटनामा घाइते भएका नौ जना मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवश जिसिले जानकारी दिए। जिल्ला प्रहरी प्रमुख जिसीका अनुसार , गम्भीर घाइते हुनेहरुमा पाणिनी गाउँपालिका–८ पालीका २७ वर्षीय चालक बेलबहादुर मुखिया र अर्घाखाँची मालारानी–१ का ७० वर्षीय भोजराज भुसाल रहेका छन् ।
सोहि दुर्घटनामा परेर छत्रदेव–७ की ६८ वर्षीया कमला देवी पाण्डे, मालारानी–१ की ६० वर्षीया रिमा भुसाल, सोही स्थानकी ३५ वर्षीया सिता भुसाल, रुपन्देही बुटवल–१६ रानीगंजकी ५५ वर्षीया कमला सुवेदी, अर्घाखाँची मालारानी–७ की १८ वर्षीया पुजा पाण्डे, सोही स्थानकी २ वर्षीया पवित्रा पाण्डे र छत्रदेव–५ डाँडाचौपारीकी २३ वर्षीया अञ्जना रसाइली घाइते भएका छन् ।
घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।