काठमाडौं ५ कार्तिक २०८२।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई गएराति र बुधबार बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सर्लाही घर ३४ वर्षीय हेम तामाङ, रामेछाप घर भएका ३० वर्षीय सिर्जन अधिकारी र काभ्रे घर भएका ३७ वर्ष जति कोकिल बहादुर शाही रहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिए।
उनीहरुले महानिर्देशक किन दुर्ब्यबहार गरेका हुन् भन्ने बारेमा हालसम्म बताएका छैनन्। तर यस बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।
सोमबार साँझ अधिकारी आफ्नो घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका थिए । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले दुर्व्यहार गर्नेको पहिचान गर्न सफल भएको थियो ।