पोखरा ४ कार्तिक २०८२।
तीन पत्ति अर्थात चली फरांसमा हारेका पाल्पाका एक युवाले तास खेल्न पैसा सापटी नदिएपछि पाल्पामा एक बृद्ध महिलाको हत्या गरिदिएका छन्।
पाल्पाको माथागढी गाउँपालिका ४ का ३७ वर्षीय मीनबहादुर विश्वकर्माले जुवा हारेको झोकमा जुवा खेल्न पैसा माग्दा नदिए पछि स्थानीय डाकै देउगिर निवासी ७६ वर्षीया फूलमाया जिसीको गएराती हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तासमा हारेपछि पैसा खोज्न जुवाखालबाट निस्किएका मिन बहादुर बिध्वकर्मा स्थानीय डाकै देउगिर निवासी ८२ वर्षीय प्रेमबहादुर जिसीको घर पुगेका थिए। जिसी दम्पतीले आफूहरुसँग पैसा नभएको भनी विश्वकर्मालाई फर्काए पछि रिसले चुर भएका मिन बहादुरले गएराति १२ बजे वृद्ध दम्पतीमाथि हँसिया लिएर जाइ लागेका थिए।
उनले हानेको हँसियाको चोटले फूलमायाको घटनास्थलमै मृत्यु भएको र उनका श्रीमान प्रेमबहादुर जिसी घाइते भएका जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी डीएसपी होमप्रकाश चौधरीले जानकारी दिए। घाइते प्रेमबहादुरको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ।
अभियुक्त बिश्वकर्मालाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी कारबाही शुरु गरिसकेको जनाइएको छ।