पोखरा, ३ कार्तिक २०८२।
पोखरामा सुमो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
घान्द्रुकबाट पोखरा आउंदै गरेको ग १ ज ७११० नं.को सुमो गाडीले आइताबार साँझ करीब पौने सात बजेको समयमा पोखरा महानगरपालिका वडा नं. २५ हेम्जामा ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका व्यक्तिलाई तत्काल उद्धार गरेर साबिक पश्चिमाञ्च्ल क्षेत्रिय अस्पताल हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याइएकोमा चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा मृत्यु भएका अन्दाजी ५५ वर्षका पुरुषको सनाखत हुन बाँकी रहेको पनि प्रहरीले बताएको छ।
दुर्घटना गराएर भागेको उक्त सुमो गाडीलाई भने आज पोखरा महानगरपालिका वडा नं. १० रंङ्गशाला गेट अगाडीबाट चालकसहित नियन्त्रणमा लिइएको पनि प्राप्त समाचारमा जनाइएको छ।
सुमो गाडी चालक पर्वतको मोदी गाउँपालिका वडा नं. १ भुकक्ताङ्ले घर भई हाल पोखरा ११ फुलवारी बस्ने वर्ष २८ को शुशिल सुनारलाई पक्राउ गरेर आबश्यक कानूनी प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कसिले जनाएको छ।