काठमाडौँ, ३ कार्तिक २०८२।
नवलपुरमा आज एकाबिहानै स्कुटर र ट्याङ्कर ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते
चोरमारा बाट अरुणखोला तर्फ जाँदै गरेको लु ५५ प २९४८ नम्बरको स्कुटरलाई नारायणगढबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ६६३४ नम्बरको तेल लोड ट्याङ्करले आज बिहान करिब ६:३० बजे पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–८ गडारखोला नजिकै ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
उक्त दुर्घटनामा घाइते भएका स्कुटर चालक मध्यबिन्दु नगरपालिका–१३ मैनाघाट बस्ने ४० वर्षीय विर बहादुर सिँजालीको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सोही दुघटनामा घाइते भएका स्कुटरमा सवार मध्यबिन्दु–७ अम्रसा बस्ने २३ वर्षीय चन्द्रबहादुर गाहा र मध्यबिन्दु–९ बसन्तपुर बस्ने ३१ वर्षीय समिरजंग कुमालको मध्यबिन्दु प्रादेशिक अस्पतालमा नै उपचार भैरहेको प्राप्त समाचारमा जनाइएको छ। दुवै जनाको टाउको र हातखुट्टामा चोट लागेको तथा अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
ठक्करपछि ट्याङ्कर सडकबाट करिब १५ मिटर तल झरेको बताइएको छ ।
दुर्घटनामा संलग्न ट्याङ्कर चालक सल्यान शारदा नगरपालिका–१४ घर भई हाल दाङ तुल्सिपुर उपमहानगरपालिका–६ बस्ने ४७ वर्षीय खलकराम भण्डारीलाई प्रहरी चौकी अरुणखोलाले नियन्त्रणमा लिएको छ ।