काठमाण्डौमा गाडी मालिकको हत्या गरेर लुटिएको पिकअप गाडी पाँचथरमा दुर्घटनाग्रस्त : चालकको मृत्यु

काठमाण्डौमा गाडी मालिकको हत्या गरेर लुटिएको पिकअप गाडी पाँचथरमा दुर्घटनाग्रस्त : चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३१ असोज २०८२
  • 8.2K
    Shares

पोखरा, ३१ असोज २०८२।

काठमाण्डौमा चालकको हत्या गरेर लुटिएको पिकअप गाडी पाँचथरमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ।

गएको असोज २४ गते काठमाडौंको दक्षिणकाली–६ बैरेनीमा सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय सुरेश श्रेष्ठको हत्या गरेर लुटिएको बा७च ५४४९ नम्बर प्लेटको गाडी पाँचथरमा दुर्घटनाग्रस्त हुँदा उक्त गाडी चलाउने एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

उक्त गाडी दुर्घटनामा परेर काठमाडौंमा बस्दै आएका ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भएका लाक्पा नुर्बु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णले जानकारी दिए।

दुर्घटनास्थलमा गाडीको नम्बर प्लेट भने परिवर्तन गरेर अर्कै राखेको पाइएको प्रहरीले बताएको छ। घटनास्थल प्रक्रित मुचुल्का बनाउने क्रममा उक्त गाडीको नम्बर प्लेट ना२च १६५१ लेखिएको पाइएको प्रहरीको भनाई छ।

कागजात र गाडीमा भएको नम्बर फरक-फरक भेटिएपछि प्रहरीले अनुसन्धान गर्दा दुर्घटनामा परेको गाडी १५६१ नभएर ५४४९ नै रहेको पुष्टि भयो । प्रहरीले दुर्घटनाग्रस्त गाडी चेकजाँच गर्ने क्रममा बा७च ५४४९ नम्बर प्लेटको गाडीको ब्लुबुक भेटिएको र उक्त ब्लुबुक्मा उल्लेख भएको गाडीको चेसिस, इन्जिन र अन्य प्रमाण समेत मिलेको तथा तात्कालिन अवस्थाका गाडी चालक लाक्पा नुर्बु शेर्पाको लाइसेन्स पनि फेला पारेको प्रहरीको दाबी छ।

बैरेनीमा हत्या गरिएका गाडी मालिक सुरेश श्रेष्ठको शब भने भोलिपल्ट असोज २५ गते बिहान काठमाडौंको कीर्तिपुरस्थित डुकुछापमा फेला परेको प्रहरीले जानकारी दिएको छ।

असोज २४ गते राति बैरेनीमा गाडी लुट्नुअघि श्रेष्ठको हत्या भएको थियो । उनको हत्यापछि लुटिएको गाडी करीब एक हप्तापछि विभिन्न ठाउँ घुमाउँदै पाँचथर ल्याइपुर्‍याउँदा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

पाँचथरमा दुर्घटना हुनु अघि उक्त गाडीलाई प्रहरीले पिछा गरेर लखेटेको पनि खुलेको छ। बुधबार अपराह्न पाँचथर सदरमुकाम फिदिममा ट्राफिक प्रहरीले सवारी जाँच गरिरहेको बेला उच्च गतिमा आएको उक्त गाडी रोक्न नमानी हेवा खोलातर्फ भागेको प्रहरीको दाबी छ। त्यसपछि ड्युटीमा रहेका ट्राफिक र सँगै रहेका प्रहरीले अघिअघि पिकअप, पछिपछि दुई वटा मोटरसाइकलमा तीन जना प्रहरी गरेर फिदिमदेखि करिब २० किलोमिटर दुरीमा रहेको सल्लेरी बजारसम्म र त्यसपछि पनि मेची राजमार्ग छाडेर कच्ची बाटो समात्दै सुभाङतर्फ मोडिए पछि एकचेपा स्कुलनजिक पुगेपछि पिछा गरिरहेका प्रहरी सदरमुकामतर्फ फर्किए । त्यसको केही बेरमा गाडी दुर्घटनाको खबर आएको प्रहरीको भनाइ छ।

शेपाले दुई दिनअघि ताप्लेजुङमा रहेका बुबालाई फोन गरेर आफू गाउँमै चलाउन मिल्ने नयाँ गाडी लिएर आँउदै छु भनेर फोन गरेको अनुसन्धानका क्रममा खुलेको डीएसपी कर्णले बताए ।

मृतकको शव पोस्टमार्टमका लागि पाँचथर अस्पतालमा ल्याएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । काठमाडौंबाट श्रेष्ठको हत्या गरी गाडी लुटिएको सीसी क्यामेरा फुटेज दुई दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो ।

श्रेष्ठको हत्या कसले गर्‍यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार