पोखरा, २५ असोज २०८२।
सल्यानका एक युवाको बिहे गरेको आठ दिनमै मोटरसाइकल दुर्घटनामा परेर निधन भएको छ।
कुमाख गाउँपालिका–५ का २३ वर्षीय प्रकाश घर्तीको बिहीबार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा परी निधन भएको हो।
घर्तीले चलाएको रा २ प ७०२२ नम्बरको मोटरसाइकल बिहीबार साँझ दार्मा गाउँपालिका ५ भिरपाटी स्थित रुकुम झुल्नेटाबाट नुवाकोट जोड्ने भित्रि सडक खण्डमा दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ।
सोहि दुर्घटनामा परेर मोटरसाइकलको पछाडी सवार रुकुम पश्चिम चौरजहारी नगरपालिका १४ का १८ वर्षीय महेन्द्र पुनको सामान्य घाइते भएका छन् र उनी उपचार पछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मोटरसाइकल सडकबाट झन्डै ४ सय मिटर खसेका घर्तीको झुल्नेटामा रहेको आकाश पोलिक्लिनिकमा सामान्य उपचार पछि जिल्ला अस्पताल सल्ले रुकुम पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिए ।