पोखरा, २४ असोज २०८२।
जेन-जी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका एक कैदीले काठमाडौंको ठमेलमा एक युवकको हत्या गरेका छन् ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते नख्खु कारागारबाट भागेका कैदी दाङको राप्ती गाउँपालिका-१ निवासी आकाश मगरले मकवानपुर घर भई बालाजु मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङको काठमाडौंको ठमेलमा हत्या गरेका हुन्।
प्रहरीका अनुसार , अभियुक्त मगरले सुरज तामाङलाई गत असोज १३ गते ठमेलको बुद्धबार गल्लीस्थित ह्याप्पी होटल अगाडि खुकुरी हानेर घाइते बनाएका थिए । सुरजको वीर अस्पतालमा उपचारको क्रममा १४ गते दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनापछि आकाश फेरि भागेका छन् ।
अनुसन्धानको क्रममा आकाश लागु औषध मुद्दामा २०८० असोज २७ देखि नख्खु कारागारमा रहेको पाइएको छ ।
यसअघि जेलबाटै भागेका काभ्रेको पनौती नगरपालिका-१२ का सन्तबहादुर तामाङले असोज ५ गते आफ्नै श्रीमती मनीषाको हत्या गरी शव खाल्डो खनेर पुरेका थिए ।