घाँटीमा लगाएको गहनाको लोभमा बर्दियामा १० वर्षीया बालिकाको हत्या : एक जना पक्राउ

घाँटीमा लगाएको गहनाको लोभमा बर्दियामा १० वर्षीया बालिकाको हत्या : एक जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २३ असोज २०८२
  • 6.3K
    Shares

पोखरा, २३ असोज २०८२।

घाँटीमा लगाएको गहनाको लोभमा बर्दियामा १० वर्षीया बालिकाको हत्या भएको खुलासा भएको छ।

गएको असोज २० गते मृत भेटिएकी १० वर्षीया बालिका भारती (एन्जल) देउवाको मृत्यु सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेपछि त्यस्तो खुलासा भएको हो।

प्रहरीका अनुसार , असोज १७ गतेदेखि बेपत्ता रहेकी बालिका एन्जल २० गते मृत भेटिएकी थिइन्। बालिका एञ्जलको मृत्यु अस्वाभाविक रहेको निष्कर्षमा पुगेको बर्दिया प्रहरीले उनको हत्या आरोपमा गेरुवा गाउँपालिका वडा ५ झबही बस्ने २१ वर्षीय समिर तिरुवा सुनारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख प्रहरी निरीक्षक मदनबहादुर गुरुङले जानकारी दिए। पक्राउ परेका तिरुवाले बालिका देउवालाई लगाएको गहनाको लोभमा हत्या गरेको स्विकारेको प्रहरीले दाबी गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले तिरुवाले हत्या गरेको स्विकारेको र अरु थप अनुसन्धान भइरहेको बताए । एसपीका अनुसार आरोपी तिरुवा गेरुवा पौडेल र राजापुरका विभिन्न सुन पसलमा बालिकाको सुन बेच्न पुगेका थिए । सो ठाउँमा सुन नबिकेपछि कैलालीसम्म सुन बेच्न पुगेको अनुसन्धानबाट खुलेको छ ।

एक्लै साइकल डोर्याएर हिँडेकी एन्जलले सुन लगाएको देखेपछि समिरले समातेको र झाँडीमा लगि घाँटी थिचेर मारेको स्विकारेका छन् । हत्या आरोपी तिरुवालाई बर्दिया आदालतमा उपस्थित गराई पाँच दिनको म्याद थपी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

बालिकाको आमा देउमा देउवाले भारतीको हत्या भएको हुनसक्ने भएकोले शवको पोष्टमार्ट गरी घटनाको अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय पाताभारमा जाहेरी दिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख तथा प्रहरी निरीक्षक मदनबहादुर गुरुङले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार