पहिरोको कारण पाँचथरमा दुई जनाको मृत्यु, तीन घाइते

पहिरोको कारण पाँचथरमा दुई जनाको मृत्यु, तीन घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २० असोज २०८२
  • 4K
    Shares

काठमाडौँ, २० असोज २०८२।

बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको पहिरोमा परेर मृत्यु भएको छ। शेर्माको घरमा पहिरो झर्दा पुरिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सोही स्थानका थलीबहादुर नेम्बाङका छोरा १७ वर्षीय मिसेक नेम्बाङको पनि मृत्यु भएको छ।

जिल्लाको मिक्लाजुङ गाउँपालिका–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की घरमाथिबाट झरेको पहिरोले लागेर घाइते भएकी छन्।

फाल्गुनन्द गाउँपालिका–१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे पनि पहिरोले भत्काएको घरको भित्तोले लागेर घाइते भएकी छन् भने फाल्गुनन्द–५ जौबारीका धनबहादुर चेम्जोङ पहिरोमा परी घाइते भएका जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए।

वर्षाका कारण पाँचथरका अधिकांश सडक क्षतिग्रस्त हुँदा घाइतेलाई सुविधासम्पन्न अस्पताल लैजानसमेत समस्या भएको छ।

सरकारी निकायहरुले अवरुद्ध मेची राजमार्ग, तमोर कोरिडोर, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, फिदिम–फालोट लगायत सडक सञ्चालन गर्न मर्मत तथा सफाइका काम थालेका छन्। रासस

प्रतिक्रिया