काठमाडौंमा वर्षाको प्रभाव कमजोर, कोशी प्रदेशमा अझै उच्च जोखिम : आज कहाँ–कहाँ हुँदैछ वर्षा ?

काठमाडौंमा वर्षाको प्रभाव कमजोर, कोशी प्रदेशमा अझै उच्च जोखिम : आज कहाँ–कहाँ हुँदैछ वर्षा ?


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ असोज २०८२
  • 4K
    Shares

भारी वर्षा

काठमाडौँ, १९ असोज २०८२।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव अझै कायम रहे पनि काठमाडौं उपत्यकामा ठूलो वर्षाको सम्भावना कम भएको मौसमविदहरूले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हालको वर्षा प्रणाली काठमाडौंबाट सर्दै कोशी प्रदेशतिर पुगेको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार उपत्यकासहित बागमती प्रदेशमा प्रणाली कमजोर भइसकेकाले अब ठूलो पानी पर्ने संकट टरेको हो ।

उनका अनुसार अहिले सक्रिय पानी पार्ने प्रणाली कोशी प्रदेशतिर केन्द्रित छ । सोही प्रभावका कारण पाँचथर, इलाम, झापा हुँदै चतरासम्मको तराई भूभागका धेरै ठाउँमा भारीदेखि धेरै भारी वर्षा भएको छ ।

‘आज पनि इलामदेखि कोशी प्रदेशको तराईका केही ठाउँमा आइसोलेटेड रूपमा भारी वर्षा हुन सक्छ,’ अर्यालले भने, ‘तर दिउँसोपछि त्यो पनि क्रमशः कमजोर हुँदै जाने देखिन्छ ।’

गत २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा भएको विभागले जनाएको छ । सबैभन्दा बढी वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५१ मिलिमिटर मापन गरिएको छ ।

हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ ।

यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ ।

कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । साथै, कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कोशी, मधेस, बागमती प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया