पोखरा , १६ असोज २०८२
झापाको गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
विराटनगरबाट काँकडभिता आउँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको बस
निर्माणाधीन एसियन हाइवेअन्तर्गत झापाको बिर्तामोडथित बुट्टाबारीमा आज बिहान ९ः३० बजे दुर्घटनाग्रस्त हुँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा इटहरी–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र रंगेली–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो । चौधरी बसको कन्डक्टर हुन् । एकजनाको पहिचान खुलेको छैन ।
सोही दुर्घटनामा इटहरीका गुलशनराज शर्मा, उनकी पत्नी अंकिता शर्मा, छोरी मनसुइ र बिनु शर्मा घाइते भएका छन्। उनीहरूलाई टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। त्यस्तै सहचालक सोमकुमार भुजेल, पाँचथरकी गंगा लिम्बू, झापाका लोजिहाङ लावती, सुहाना लिम्बू, मेङ्सो लिम्बू, विराटनगरकी अनुषा भट्टराई, मञ्जु खतिवडा, झापाकी राधिका खतिवडा र ताप्लेजुङका राकेश लिम्बूसमेत घाइते भएका छन्।
बस अनियन्त्रित भएर सडकबाट पाँच मिटर तल्तिर झरेको थियो । तीव्र गतिमा रहेको बस निर्माणाधीन सडकबाट तल झरेको हो ।
घाइतेहरूलाई उद्दार गरी अस्पतालतर्फ पठाइसकिएको घटनास्थलमा खटिएका ट्राफिक प्रहरीले बताएका छन् । स्थानीयबासी तथा अन्य यात्रु र प्रहरीले घाइतेको उद्दार गरेका थिए ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उद्धारकार्य गरी सबै घाइतेलाई बिएन्डसी अस्पताल पठाएको छ। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।