पोखरा १५ असोज २०८२ ।
बाराको चुरियामाईको उकालोमा आज बिहान ब्याक भएको बसले दुई वटा मोटरसाइकललाई ठक्कर दिंदा दुइ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ स्थित चुरियामाई मन्दिरनजिकै पथलैया–हेटौंडा सडकखण्डको उकालोमा ब्रेक फेल भएको ना. ७ ख ८५३७ नम्बरको यात्रुबाहक बसले पछाडि रहेका ना. १२ प ३३६० र मधेश प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको हो भने अन्य छ जना घाइते भएका छन्।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका ना. १२ प ३३६० नम्बरको मोटरसाइकल चालक बाराको फेटा गाउँपालिका-१ का २५ वर्षीय मकेश्वर पटेल र मधेश प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकलमा सवार पर्सा जिल्लाको वीरगञ्जकी २६ वर्षीया कविता देवी पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलिपकुमार थापाले जानकारी दिए।
सोही दुर्घटनामा परेर दुई परिवारका ६ जना घाइते भएका छन्। घाइते हुनेमा मृतक मकेश्वर पटेलकी २२ वर्षीया श्रीमती कलिता देवी र २० महिनाकी छोरी तानेया पटेल तथा मृतक कविता देवीका श्रीमान् २७ वर्षीय कञ्चनकुमार पटेल (मोटरसाइकल चालक) र ३ वर्षीय छोरा आयुष पटेल रहेका छन्। उनीहरूको मकवानपुरको सहकारी अस्पतालसहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बस दुर्घटनापछि फरार रहेका बस चालक सर्लाही लालबन्दीका ४७ वर्षीय विश्वनाथ चौधरीलाई नियन्त्रणमा लिइएको छ।