पोखरा १५ असोज २०८२ ।
गएराति वीरगन्जमा भएको ग्याङफाइटमा मृत्यु भएका युवाको पहिचान खुलेको छ।
उक्त ग्याङफाइटमा मृत्यु भएका युवा बाराको परवानीपुर गाँउपालिका – ५ बहुअरी स्थायी घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका- १० मा डेरामा बस्दै आएका अन्दाजी २२ वर्षीय शीवम साह कानु (गोल्डेन खान) भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार , गहवामाई मेला चलिरहेको बेला राति करिब १२ देखि १ बजेको बीचमा गितामन्दिर रोडस्थित माईस्थान र घडिअर्वा पोखरी क्षेत्रबीच भीषण ग्याङ फाइट भएको थियो । सोहि फाइटको क्रममा घाइते भएका गोल्डेन खान नामका युवकलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।
माईस्थानबाट गीता मन्दिर जाने बाटोमा मंगलबार राति ११.४५ बजेतिर मेलामा घुमिरहेका युवाहरूको दुई समूहबीच विवाद भई कुटाकुट हुँदा कानुको जिउमा बाँसले प्रहार गरिएको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि नारायणी अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले मंगलबार राति नै तीन जना युवकहरुलाई नियन्त्रणमा लिएको छ ।
पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले पनि दुई समूहबीच भएको कुटाकुटमा एक युवकको मृत्यु भएको पुष्टि गरे । उनले भने,‘ ग्याङ् फाइट होइन । एक जनालाई मात्रै टार्गेट गरेर हानेको देखिन्छ । घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि ३ जनालाई नियन्त्रणमा लिएका छौं । अनुसन्धान जारी छ।’