पोखरा १४ असोज २०८२ ।
डडेल्धुरामा एक महिलाले जेठाजुको सहयोगमा आफ्नै श्रीमानको हत्या गरेकी छिन्।
जिल्लाको अजयमेरु गाउँपालिका–५ देवलगालकि कमला सार्कीले जेठाजु जोगराज सार्कीको सहयोगमा २९ वर्षीय श्रीमान मानसिंह भनिने महेश सार्कीको हत्या गरेकी हुन्।
उनीहरुले गत असोज ८ गते राति मानसिंह भनिने महेश सार्कीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। असोज ८ गते करिब १२ बजेतिर महेश आफ्नै घरकोठाको खटिया नजिकै प्लास्टिकको डोरी टाँगिएको अवस्थामा मृत भेटिएका थिए।
उक्त हत्यामा संलग्न रहेको आरोपमा उनकी श्रीमती कमला सार्की र दाइ जोगराज सार्कीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक एवम् डम्बर विष्टले जानकारी दिए।
मृतक महेश र कमलाबीच लामो समयदेखि पारिवारिक विवाद हुँदै आएको खुलेको छ। घटना हुनुअघि पनि झगडाका कारण कमला करिब दुई महिना माइतीतिर बसेकी थिइन्। घटना घट्नुअघि २–४ दिनअगाडि मात्र उनी घर फर्किएकी थिइन्।
असोज ८ गते राति महेश घरबाहिर निस्केर हराएको भन्दै कमलाले छिमेकीसँग गुहार मागेको अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ।
प्रारम्भिक सोधपुछमा घटनामा कमला र दाजु नाता पर्ने जोगराज दुवैको संलग्नता देखिएको प्रहरीले जनाएको छ।