लमजुङको निर्माणाधीन राइनास नगर अस्पतालमा युवकको हत्या : एक जना पक्राउ

लमजुङको निर्माणाधीन राइनास नगर अस्पतालमा युवकको हत्या : एक जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ असोज २०८२
  • 2.7K
    Shares

पोखरा १३ असोज २०८२ ।

लमजुङको राईनास नगरपालिकामा निर्माणाधीन नगर अस्पतालमा गएराती एक युवाको हत्या भएको छ।

राईनास नगरपालिका-४, सातबिसेस्थित उक्त निर्माणाधीन अस्पतालको रेखदेखको काम गर्दै आएका सिन्धुलीको कमलामाई नगरपालिका-१० घर भएका २२ वर्षीय विशाल दाहालको गएराती हत्या भएको हो।

दाहाललाई राईनास-३ का ३० वर्षीय सागर परियारले ढुंगाले हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अभियुक्त परियारलाई आज बिहान करीब ४ बजेको समयमा सदरमुकाम बेसीशहरमा एक साथीकोमा लुकेर बसेको अवस्थ्यामा पक्राउ प्रहरीले दाबी गरेको छ।

प्रहरीका अनुसार, दाहालको शब घोप्टो परेको अवस्थामा आइतबार साँझ उनी सुत्ने कोठामा भेटिएको थियो। टाउकोको पछाडिपट्टि गहिरो चोट लागेको र रगतले लतपतिएको ढुंगा शव नजिकै फेला परेपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान अघि बढाएको थियो।

प्रहरी चौकी तिनपिप्लेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थलको ढोका बाहिरबाट बन्द रहेको तर झ्याल खुला रहेको अवस्थामा फेला पारेको थियो। तत्काल गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षकको टोली घटनास्थल पुगेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले मृतक दाहाल पछिल्लो समय राईनास-३ का ३० वर्षीय सागर परियारसँगै हिँडडुल गर्ने र मादक पदार्थ सेवन गर्ने गरेको खुले पछि अभियुक्त परियारलाई खोजि शुरु गरेको थियो। अभियुक्त परियार सदरमुकाम बेसीशहरमा एक साथीकोमा लुकेर बसेको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राज किशोर साह तेलीका अनुसार, प्रारम्भिक सोधपुछका क्रममा परियारले आफ्नो अपराध स्वीकार गरेका छन्। परियारले प्रहरीसमक्ष दिएको बयानअनुसार, असोज ११ गते साँझ उनीहरूले रक्सी र मासु लिएर मृतक दाहाल बस्ने कोठामा गई सेवन गरेका थिए।

सोही क्रममा राति अबेर दुई जनाबीच विवाद बढ्दै जाँदा आफूले नजिकै रहेको ढुंगाले दाहालको टाउकोमा प्रहार गरी हत्या गरेको उनले स्वीकार गरेका छन्। प्रहरीले आफन्त, जनप्रतिनिधि र स्थानीयको रोहवरमा शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल, लमजुङ पठाएको छ।
पक्राउ परेका परियारलाई हिरासतमा राखी थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया