पोखरा, ६ असोज २०८२।
मकवानपुरमा यात्रुबाहक बस, ट्रक र ट्याङकर एकापसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो करिब १:१० बजे चितवनबाट बीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको चालक साइडको टायर पड्किँदा बस अनियन्त्रित भई हेटौंडाबाट चितवनतर्फ आउँदै गरेको ना ६ ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको र सो ट्रकले अनियन्त्रित भई काठमाडौंबाट बारातर्फ आउँदै गरेको ना ७ ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङकरमा ठोक्किँएको प्रहरीले जानकारी दिएको छ।
उक्त दुर्घटनामा घाइते भएका ३१ जनामध्ये २ जनाको अवस्था गम्भीर छ भने अन्य मध्यम तथा सामान्य घाइते छन् । घाइतेहरूलाई उद्धार गरी हेटौंडा अस्पताल र चुरेहिल अस्पताल मकवानपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षक प्रकाश खत्रीको कमाण्डमा टोली खटिएको थियो भने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याल र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बच्चुराम फुँयालको कमाण्डमा गरी करिब २५ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।