काठमाडौं, १ असोज २०८२।
जेन जी आन्दोलनका चर्चित युवा नेता सुदन गुरुङले आफूलाई पछ्याइएको दाबी गरेका छन्। उनले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै उनले आफुलाई मोटरसाइकल र गाडीले लगातार पछ्याइएको बताएका छन् ।
उनले बुधबार पनि रानीबारीदेखि नयाँ बानेश्वरसम्म केही थान पल्सर र होन्डा बाइकमा रहेको समूहले लखेटेको बताएका छन् । उनलाई पिछा गर्ने क्रममा केही गाडीहरु पनि थपिएको गुरुङले गुनासो गरेका छन् ।
संयोजक गुरुङले सुशासनका लागि आफूले आवाज उठाउदा र जेनजी आन्दालनमा समन्वयकारी भूमिका निर्वाह गर्दा आफूलाई सुरक्षा चुनौती भएको बताएका छन् ।
भिडियोमा उनले, ‘मलाई केही भयो भने तिमीहरू अघि बढ्नुपर्छ। झोलेहरूले प्रपोगण्डा गरिरहेका छन्, त्यसैले सबै जेनजीहरूले एकजुट भएर उठ्नुपर्छ।’ भनेका छन्।
गुरुङले आफूलाई पछ्याइएको आशंका गर्दै अहिले करिब २० जनाले व्यक्तिगत सुरक्षा दिइरहेको बताए। उनले महेश बस्नेतले खुलेआम चुनौती दिएको भन्दै आफूलाई लखेट्नेमध्ये उनी नै हुनसक्ने शंका गरे। तर उनले अहिलेसम्म प्रहरीलाई जानकारी नदिएको बताए। यस विषयमा काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले भने सुधनले असुरक्षाबारे कुनै जानकारी नदिएको बताए।