पोखरा, १ असोज २०८२ ।
राजनीतिक नेताहरुको घरका कोठाहरुमा रुपियाँको चाङ् रहेका भिडियो सामाग्रीहरु सार्वजनिक भैरहेका बेला रकम अभावमा नवलपरासी देवचुली २८ विघाकी एक महिलाले आफ्नो नागरिकता धितो राखेर पोखराको मणिपाल शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी छिन।
सुत्केरी हुन् करीब दुई हप्ता अघि मणिपाल शिक्षण अस्पताल पुगेकी नवलपरासी देवचुली २८ विघाकी पूजा सुनारले छोरा पाइन्। तर दुई हप्तासम्मको उपचार खर्च एक लाख २५ हजार तिर्न नसके पछि अस्पताल ब्यबस्थापनले आइतबार उनलाई डिस्चार्ज हुन दिएन।
सुत्केरी र शिशुको मुटुमा समस्या भएका कारण ठूलो खर्च आएको बताइएको छ । शिशुको ९ दिन आइसीयूमा राखेर उपचार गरिएको थियो भने आमाको ५ दिन ।
निर्माण मजदुर रहेकी पुजा सुनारले अस्पतालबाट डिस्चार्ज स्लिप लिए पछि आबश्यक रकमका लागि आफन्त, चिनजानका मानिसहरुसंग हारागुहारको कोशिश पनि गरिन्। दुई हप्ताको सुत्केरी पुजा सुनारसंग खान र बस्नका लागि त पैसा थिएन। उनले उपचार खर्च कहाँबाट पाउनु ? कसैले उनलाई सहयोग नगरेपछि उनी अस्पतालकै बेडमा गएर बसिन्।
तागत दिने खालका पोषिलो खाना खानुपर्ने आलो सुत्केरी पूजाले कुनै पनि हालतमा उपचार खर्च दिन नसक्ने भए पछि अस्पतालले उनको डिस्चार्ज गर्नुअघि तीन महिनामा सबै पैसा तिर्ने शर्तमा कागज गर्दै नागरिकता धितो लिएर आइतबार दिश्चार्ज गरेको छ।
कामकै सिलसिलामा स्याङ्जा पुगेका पूजा र उनको श्रीमान हरि सुनार अहिले हरिको दिदीले काम गर्ने साहुको घर कृस्तीमा लगिएको छ । त्यहाँ एउटा सानो कोठा बस्न दिइएको छ । सोमबार केही दाताको सहयोगमा तत्कालै पाँच हजार सहयोग र अस्पतालबाटै निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गरेर उनलाई कृस्तीसम्म पु¥याइएको हो ।
“हामीलाई सहयोग गरिदिनुहोस्,’ हरिले भने, ‘अहिले दिदीको साहुको घरमा बस्ने ठाउँमा पनि समस्या नै छ । गाडी चढ्नै लागि पनि टाढा जानुपर्छ । बच्चा र आमालाई केही भइहाल्यो भने पनि अस्पताल पुग्न कठीन छ ।’ उनको श्रीमतीको मुटुको भल्भमा समस्या रहेको छ । उनको थप उपचारका लागि काठमाडौं लानुपर्ने स्थिति रहेको हरिले सुनाए ।