जेन जी आन्दोलनका क्रममा म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ परेका छन्।
म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोप लाग्नेहरूमा बेनी २ का २१ वर्षीय अर्जुन जिसी, सोही ठाउँका २६ वर्षीय दिबहादुर सापकोटा, बेनी १ का २६ वर्षीय कृष्णबहादुर मगर, , २७ वर्षका सुनिल थापा मगर, ३१ वर्षका सुसन थापा मगर, र २१ वर्षका अभिषेक परियार रहेका छन्।
सामाजिक सञ्जालमा आएको फोटो भिडियो र सीसीटिभी क्यामेराको सहायताले उनीहरूलाई पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ।
उनीहरूलाई कारागार ऐन २०१९ विपरीतको कसूरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
न जी आन्दोलनका क्रममा भदौ २५ गते बिहान साढे ७ बजे एक समूहले कारागारको मुलढोका फोडेर ६६ कैदीबन्दीलाई भगाएका थिए । कारागारमा ८८ जना कैदीबन्दी रहेकोमा पुरुष कैदीबन्दीहरु भागेका हुन् ।
सबैलाई म्याग्दी जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको सूचना अधिकारी सागर पौडेलले जानकारी दिए । उनका अनुसार अरू फरारको खोजी भइरहेको छ ।
