वैशाख २६ वीरगन्ज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले परिमार्जनसहित संविधान संशोधन नभए मधेशमा चुनाव असम्भव रहेको बताएका छन् ।
पछिल्लो समय संविधान संशोधनका लागि सरकार गम्भीर देखिएको र संशोधन प्रक्रिया पनि अघि बढिसकेकोले गर्दा पहाड केन्द्रीत चुनावमा आफूहरुले उम्मेदबारी दिएको बताए ।
अध्यक्ष यादवले सरकारले संविधान संशोधन नगरी मधेसमा चुनाव गर्न खोजे त्यो सम्भव नभएको बताए । उनले संविधान संशोधन गरेर मधेसका माग पूरा नभएसम्म मधेसमा चुनाव हुनै नदिने चेतावनी दिए ।
पर्साको वीरगन्जमा सोमबार आयोजित एक दिने गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन नभएसम्म दोश्रो चरणमा हुने भनिएको चुनावमा फोरम नेपालले भाग नलिने र चुनाव पनि हुनै नदिने भएका हुन् ।
“जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म मधेसमा चुनाव हुन दिन्नौं, यदि मधेसमा चुनाव भएन भने अहिले पहाडमा भएका चुनावको पनि कुनै अर्थ रहदैन” यादवले भने । उनले मधेसको एजेण्डामा कुनै किसिमको सम्झौता नहुने बताए ।
मधेसको मागको सवालमा नेकपा एमाले मात्र नभई काँग्रेस पनि विपक्षमा रहेको बताउँदै अध्यक्ष यादवले एमालेले संघीयता, धर्म निरपेक्षता र समावेशी लोकतन्त्रलाई समाप्त पार्नका लागि आन्तरिक रुपमा निर्णय नै गरिसकेको दाबी समेत गरे ।