पोखरा, २८ भदौ २०८२।
जेन जी आन्दोलनका क्रममा ईलाका प्रहरी कार्यालय बनेपाबाट लुटिएको कटुवा पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका–७ घर भई हाल बनेपा नगरपालिका–९ लाईकुमा कोठाभाडामा बस्दै आएका ३४ वर्षीय सन्तोष श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मिन घलेले जानकारी दिए ।
जेन जी आन्दोलनका क्रममा गएको भदौ २४ गते ईलाका प्रहरी कार्यालय बनेपामा भएको तोडफोड, आगजनी र लुटपाटका क्रममा अभियुक्त श्रेष्ठले एक थान कटुवा पेस्तोल र ३६ राउन्ड गोली लगेको प्रहरीले दाबी गरेको छ। श्रेष्ठलाई इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रामेश्वर त्वाँतीको टोलीले उनकै कोठाबाट पक्राउ गरेको थियो ।
अभियुक्त श्रेष्ठलाई हाल जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखिएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी शाहले त्यस्ता सामानहरू प्रहरीलाई बुझाईदिन र ती सामानहरूबाट थप क्षति नपुर्याउन आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, धुलिखेलले सूचना नै जारी गरेर भदौ २३ देखि २५ गते सम्म भएको प्रदर्शनका क्रममा चोरी भएका नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार गोलीगठ्ठा, सञ्चार साधन, असभाब, प्रहरी पोशाक र अन्य भौतिक साधनहरू यथाशीघ्र फिर्ता गर्न आग्रह गरेको छ । फिर्ता नगरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रहरीको चेतावनी छ ।