पोखरा, २७ भदौ २०८२।
चितवनको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको घर जलाउँदा ग्यास पड्किएर घाइते भएका एक युवाको निधन भएको छ । जेनजी समूहको प्रदर्शनका क्रममा यही भदौ २४ गते दिउँसो उपप्रमुख अधिकारीको घरमा आगो लगाउँदा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका भरतपुर–२१ का १९ वर्षीय सरोज गुरुङको उपचारका क्रममा आज मृत्यु भएको हो ।
ग्यास पड्किएर टाउको, छाती र पेटमा चोट लागेका गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।