तनहुँको सर्वकल्याण सहकारी प्रकरण : तीन महिनाभित्र रकम तिर्ने गरी चेक दिएपछि अध्यक्ष सिग्देल हिरासतमुक्त

तनहुँको सर्वकल्याण सहकारी प्रकरण : तीन महिनाभित्र रकम तिर्ने गरी चेक दिएपछि अध्यक्ष सिग्देल हिरासतमुक्त


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ भाद्र २०८२
  • 3.9K
    Shares

पोखरा, १८ भदौ २०८२ ।

तनहुँको व्यास ४ मा रहेको सर्वकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपक सिग्देल पीडित शेयर सदस्यहरूलाई तीन महिनाभित्र रकम फिर्ता गर्ने प्रतिबद्धता जनाउँदै चेक बुझाएपछि मिलापत्र गरेर हिरासतमुक्त भएका छन्।

उक्त सहकारीको एक करोडभन्दा बढी रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष सिग्देल पिडितहरुलाई रकम फिर्ता गर्ने प्रतिबद्धता जनाउँदै चेक बुझाएपछि मिलापत्र गरेर हिरासतमुक्त भएका हुन्।

त्यसो त यसभन्दा अघि पनि उनले २०८२ असार मसान्तसम्म पिडितहरुको रकम तिर्ने प्रतिबद्धता गरेका थिए। तर त्यो प्रतिबद्धता पूरा नभए पछि पिडितहरुले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको थियो।

पिडितहरुको विश्वास गुमाएका अध्यक्ष सिग्देलले दिएको चेक सतही नभएमा चेक बाउन्स मुद्दा चलन सक्ने कानूनी प्राबधानलाई ख्याल राखेर पिडितहरुले अध्यक्ष सिग्देलसंग मिलापत्र गरेको समाचारस्रोतहरुले जानकारी दिएका छन्।

सर्वकल्याण सहकारीले विगत केही वर्षदेखि लेखापरीक्षण नगरेको, साधारण सभा नगरेको, र सम्पूर्ण वित्तीय कारोबार विद्युतिय सफ्टवेयरमार्फत मात्र गरेको खुलेको थियो।

चार वटा मूल खाता समेत हराएको, सफ्टवेयरमा ब्याकअप नरहेको, र रु. १,०८,०६,५२८ बराबरको हिसाब फरक परेको ब्यास नगरपालिकाको प्रारम्भिक अनुगमन प्रतिवेदनमा उल्लेख छ।

नगरपालिकाले पटक–पटक पत्राचार गर्दा पनि समितिले प्रतिवेदन नपठाएको र रकम नफिर्ता गरेपछि सिग्देलमाथि उजुरी दर्ता गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरिक्षक आशिष बि क का अनुसार दुवै पक्षबीच आफू आफूमा लिखित सहमति (मिलापत्र) भएपछि सिग्देललाई परिवारको जिम्मा लगाइएको हो। तर उनीले दिएको चेकको अवधि सकिएपछि पनि रकम फिर्ता नगरेमा पुनः कानुनी प्रक्रिया अगाडि बढ्ने छ ।

प्रतिक्रिया